पार्टीको बैठक छाडेर एकीकृत समाजवादीका मन्त्री पद जोगाउन दौडधुपमा


काठमाडौँ – केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्।

मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा लागे।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने बबरमहलस्थित एक व्याङ्क्वेटमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपस्थित थिए। उनलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउन पार्टीले सिफारिस गरेको छ। चारै जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउन लागेपछि केही दिनदेखि नेकपा एस तरंगित छ।

आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा उपस्थित नभइ सामाजिक सञ्जाल र बाहिर हल्ला गर्दै नहिँड्न चेतावनीसमेत दिएका थिए।

मन्त्री हेरफेरको लागि नेतृत्वले गरेको सिफारिसमा असन्तुष्टि जनाएर आठ बुँदे मागसहित हस्ताक्षर गरेर पार्टीलाई बुझाएका मन्त्रीसहित १० नेतामध्ये पर्यटनमन्त्री प्रेमसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् भने बाँकीले पद जोगाउन दिनभर कसरत गरेका गरे।

पर्यटनमन्त्री प्रेम आलेसहितका ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् भने स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री श्रेष्ठ तथा सांसद निरा जैरु हस्ताक्षरको निर्णयबाट पछि हटेका छैनन्।

उनीहरुले हस्ताक्षर फिर्ता नलिएको भन्दै पुरानै मागमा अडान दोहोर्‍याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन बालुवाटार पुगेका थिए भने सत्ता गठबन्धनका शीर्ष नेतालाई पनि भेटेका थिए।

यता एकीकृत समाजवादीको आज बसेको केन्द्रीय कमिटी बैठकले भने मन्त्रिमण्डल फेरबदलको लागि पार्टीबाट सिफारिस गरिएको नाम नै अन्तिम भएको जनाएको छ। छिट्टै मन्त्री हेरफेर भएर नयाँ मन्त्रीले सोमबारसम्ममा शपथ लिने एकीकृत समाजवादीले जनाएको छ।

सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए।

बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुनेछ।

तर सरकारबाट बाहिरिन लागेका मन्त्रीहरूले नयाँ मन्त्रीहरूको छुट्टै सूची तयार पारेका छन्। उनीहरूले पार्टीले सिफारिस गरेका मन्त्रीहरूको सूची समावेशी नभएको भन्दै नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका हुन्।

शुक्रबार चार मन्त्रीसहित १० सांसदले मन्त्री हेरफेरसम्बन्धी पार्टी निर्णयको विपक्षमा संसदीय दलको बैठक माग गर्दै निवेदन दिएका थिए।
निवेदनबाट शनिबार हस्ताक्षर फिर्ता लिएका पर्यटनमन्त्री आलेले अलग्गै नयाँ मन्त्रीहरूको सूची पेस गरेका हुन्। स्रोतका अनुसार नयाँ सूचीमा ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेल्धुराकी नीरा जैरु, डोल्पाका धनबहादुर बुढा रहेका छन्।

त्यस्तै, दाङका हीरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस भएको छ।

त्यस्तै पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री खापुङलाई स्वाथ्यमन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउन सिफारिस गरेको छ।

सोही सिफारिसलाई चित्त नबुझाएर हिजो शुक्रबार १० जनाले आपत्ति जनाएका थिए भने तीमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन्। हस्ताक्षर फिर्ता नलिएका तीन मन्त्री भने बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन बालुवाटार पुगेका थिए।

स्वाथ्य तथा जनसंख्यामन्त्री खतिवडा, झाँक्री र श्रममन्त्री श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेका थिए। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि थिए।

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि सशर्त मन्त्री पद छोड्ने भएकाले तत्काल आफूहरुलाई नहटाउन उनीहरुले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

गैरसांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने तथा नयाँ बन्ने मन्त्रीमा महिलालाई पनि सहभागी गराउनुपर्ने उनीहरुको शर्त छ।

नेकपा एसले सरकारमा सहभागी हुँदै पार्टी र संगठन पनि मजवुत बनाउनुपर्ने भएकाले ६/६ महिनामा मन्त्री फेरबदल गर्ने निर्णय गरेको थियो।

बैठकमा उठेका प्रश्नको जवाफ दिनुपर्ने मन्त्रीसमेत रहेका जिम्मेवार नेताले पदाधिकारी, पोलिटव्यूरो, सचिवालय र केन्द्रीय प्रतिनिधि परिषद् बैठक तय गरी आफै उपस्थित नभएर गैरजिम्मेवारीपन देखाएका छन्।

प्रतिक्रिया