इजरायलमा रहेका नेपालीलाई घरमै बस्न दूतावासको आग्रह


तेलअविव- इजरायलस्थित नेपाली दूतावासले इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। इजरायल र इरानबीच जारी द्वन्द्वका कारण सुरक्षा जोखिम बढेको जनाउँदै दूतावासले यस्तो सतर्कता अपनाउन अनुरोध गरेको हो।

दूतावासले जारी गरेको विज्ञप्तिमा युद्धको क्रममा इजरायलका विभिन्न स्थानहरूमा जनधनको ठूलो क्षति भएको उल्लेख गरिएको छ। त्यहाँको होम फ्रन्ट कमान्डले सर्वसाधारणका लागि सुरक्षा सम्बन्धी निर्देशनहरू लगातार अद्यावधिक गरिरहेको जनाइएको छ।

वर्तमान परिस्थितिमा शैक्षिक संस्था र अत्यावश्यकबाहेकका कार्यालयहरू बन्द गरिएको दूतावासले जनाएको छ। साथै, सभा, जुलुस वा भीडभाड नगर्न इजरायली सरकारले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न नेपाली नागरिकहरूलाई आग्रह गरिएको छ।

दूतावासले सबै नेपालीलाई स्थानीय सुरक्षा निकायको निर्देशन र प्रोटोकलको पालना गरी सुरक्षित रहनु पर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया