


होहल्लाबीच संसद बैठक सञ्चालन, कांग्रेस सांसद बजगाईं दर्शकदीर्घामा

काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधि सभामा जारी विरोधका बीच आइतबारको बैठक पनि अवरोधकै अवस्थामा अघि बढाइएको छ।
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरे पनि सभामुख देवराज घिमिरेले संसद बैठकलाई अगाडि बढाएका हुन्। सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोधमा उत्रिए। सभामुखले उनीहरूलाई बस्न आग्रह गरे पनि विरोध रोकिएन।
नाराबाजीबीच सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिए। विपक्षी सांसदहरूको अवरोधका बीच उनले आफ्नो भनाइ राखे।
बैठक तानाबानाबीच चलिरहँदा एक फरक दृश्य पनि देखिएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं बैठक कक्षभित्र नबसी दर्शकदीर्घामा बसेर बैठक अवलोकन गरिरहेका थिए। सांसदले दर्शकदीर्घाबाट बैठक हेर्नु संसदीय व्यवहारमा दुर्लभ दृश्य हो, जसले सोमबारको संसद् बैठकलाई थप चर्चाको विषय बनाएको छ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आएको छ। सोही मागसहित उसले पछिल्ला दिनहरूमा निरन्तर संसद अवरुद्ध गरिरहेको छ।

