


वैदेशिक रोजगारीको नाममा ८५ लाख ठगी, काठमाडौंबाट मुख्य आरोपी पक्राउ

काठमाडौं — युरोपका विभिन्न देशमा रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको बारेकोट गाउँपालिका–७ का रूपक विश्वकर्मा रहेका छन्। उनी हाल काठमाडौं महानगरपालिका–९ मा बसोबास गर्दै आएका थिए।
वैदेशिक रोजगार विभागमा थुप्रै पीडितहरूले रूपकविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। उनी पीडितहरूलाई कहिले ‘दीपक पाण्डे’, कहिले ‘अमित केसी’ त कहिले ‘दीपककुमार पाण्डेय’ भनेर चिनाउँथे। उनको वास्तविक नाम थाहा पाउनेहरू थोरै थिए।
रूपकले आफूलाई “अचिभर्स कन्सल्टिङ सर्भिसेस” नामक कन्सल्टेन्सीको म्यानेजिङ डाइरेक्टर भन्दै ‘दीपक पाण्डे’ नामको भिजिटिङ कार्ड बाँड्थे। त्यसैगरी “अट्राक्टिभ ट्राभल्स एन्ड टुर्स” मा ‘अमित केसी’ नाममा परिचय दिँदै काम गर्थे। उनले ‘दीपककुमार पाण्डेय’ नाममा भारतीय आधार कार्डसमेत बनाएका थिए र सोही नाममा बसुन्धरामा कार्यालय सञ्चालन गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विश्वकर्माविरुद्ध कुल १० वटा पक्राउ पुर्जी जारी छन्। तीमध्ये ९ वटा पुर्जी वैदेशिक रोजगार विभागबाट र १ जिल्ला प्रहरी परिसर काठमाडौंबाट जारी गरिएको हो। जिल्ला प्रहरीको पुर्जीमा २ लाख ७० हजार रुपैयाँ ठगीको आरोप छ। विभागमा दर्ता उजुरीअनुसार, उनले ८२ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेका छन्।
यसरी कुल ८५ लाख ५० हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप लागेका विश्वकर्मालाई केही दिनअघि पक्राउ गरिएको हो। उनलाई हाल थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।

