


रास्वपामाथि कांग्रेसको प्रहार- ‘राजीनामा माग्नेहरूले थुनामा बसेकालाई सभापति बनाउँछन्?’

काठमाडौं- सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोगमा थुनामा रहेका रवि लामिछानेलाई पार्टी सभापति तथा संसदीय दलको नेता बनाइराखेको भन्दै सत्ता पक्ष नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कडा कटाक्ष गरेको छ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्नु नैतिकताको दुहाइ मात्र भएको टिप्पणी गरे। उनले भने, “नैतिकताको पाठ अरुलाई होइन, आफैलाई सिकाउनुपर्छ।”
घिमिरेले रवि लामिछानेलाई लक्षित गर्दै भने, “पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा खेपिरहेका, सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिएका व्यक्ति अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रास्वपाको सभापति छन्। संसद सचिवालयमा पनि उनी नै संसदीय दलका नेता छन्। संसद पदबाट निलम्बन भइसकेका व्यक्तिलाई नेताको रूपमा राख्ने पार्टीले अरुलाई नैतिकताको पाठ सिकाउनु कत्तिको उपयुक्त हो?”
उनले संसदमा चर्को नाराबाजी गर्दै राजीनामाको माग गर्ने दल आफैंले गम्भीर मुद्दामा मुछिएको नेतालाई जिम्मेवार पदमा राखेर अरुलाई पाठ सिकाउन खोज्नु दुःखद भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै रास्वपा र राप्रपाले आइतबार पनि संसद अवरुद्ध गरेका थिए। ती दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका थिए। बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ।

