माओवादीले दुईबुँदे सहमतिमा वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : राजेन्द्र लिङ्देन


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्रमाथि सरकारसँग दुईबुँदे सहमति गर्दै “वीरतापूर्वक आत्मसमर्पण” गरेको आरोप लगाएका छन्। शुक्रबारको संसद बैठकमा बोल्दै उनले सत्ता गठबन्धनभित्रको सहमति नाटकजस्तै भएको टिप्पणी गरेका हुन्।

“१७–१८ दिनदेखिको नाटकमा अब वीरतापूर्वक आत्मसमर्पण गरिएको छ,” लिङ्देनले भने, “दुई दलबीचको यो सहमति लुटतन्त्रलाई संस्थागत गर्ने प्रयास नेपाली जनताले प्रष्ट बुझेका छन्।”

उनले भिजिट भिसा प्रकरणमा राजनीतिक संरक्षणविना भ्रष्टाचार हुन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए। “देशको बेइज्जती भएको छ, यसको निष्पक्ष छानबिन हुनुपर्छ,” उनले जोड दिए।

लिङ्देनले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारबाट अंकुश लगाउने प्रयास भएको भन्दै विरोध जनाए। “सरकारले जनताका लेख्न र बोल्न पाउने अधिकारमाथि हस्तक्षेप गर्दै जंगे शासन लाद्न खोजेको छ,” उनले भने।

उनले शान्तिपूर्ण प्रदर्शनका क्रममा राप्रपा नेताहरूलाई पक्राउ गरिएको घटनालाई असंवैधानिक भन्दै भर्त्सना समेत गरे। “कमल थापालाई पक्राउ गरियो, उनलाई भेट्न गएका सांसद दीपक सिंहलाई समेत नियन्त्रणमा लिइयो। यस्तो चरित्र लोकतान्त्रिक शासनमा कदापि स्वीकार्य छैन,” उनले भने।

प्रतिक्रिया