विवाहित महिलालाई एकल महिला भत्ता उपलब्ध दिने गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवलगायत १७ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गर्दै ६ लाख ५६ हजार ७ सय रुपैयाँ हिनामिना गरेको आरोप छ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, गाविस सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तवसहितका कर्मचारी तथा स्थानीय नेताहरूले मिलेमतोमा भत्ता वितरणमा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानको क्रममा वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्मको अवधिमा, उमेर नपुगेका व्यक्तिहरूलाई ज्येष्ठ नागरिक वा दलित ज्येष्ठ नागरिकका रूपमा, नागरिकता नभएकाहरूलाई एकल महिलाको रूपमा, तथा भारतमा विवाह गरेर गएकी महिलालाई एक महिलाका रूपमा देखाएर सामाजिक सुरक्षा भत्ता दिइएको पाइएको आयोगको भनाइ छ।

उक्त भत्ता बुझ्ने १४ जना लाभग्राहीलाई समेत प्रतिवादी बनाई आयोगले उनीहरूविरुद्ध बिगो रकमसहित जरिवाना र कैद सजायको मागदावी गरेको छ। प्रतिवादीमा साहजिमा खातुन, अवधराम बढही, रामजीवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरिराम अहिर, बारि खाँ, मोति भुजुवा र सन्तराम बडही रहेका छन्।

प्रतिक्रिया