


गृहमन्त्रीको राजीनामा माग्दै रास्वपा–राप्रपाको संसदमा निरन्तर विरोध

काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभामा निरन्तर विरोध जारी राखेका छन्। आइतबारको बैठकमा पनि दुवै दलका सांसदहरूले उठेर विरोध जनाएपछि संसद् अवरुद्ध हुने स्थिति उत्पन्न भएको छ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्न थाले। सभामुख घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले अटेर गरे। त्यसपछि सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए।
तर विपक्षी सांसदहरूले वेल घेरेर नाराबाजी जारी राखे। संसदमा एकजना सांसद उभिँदा पनि बैठक सञ्चालन नगर्ने परम्परा भएपनि सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरे।
रास्वपाले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ भने राप्रपाले समेत त्यसमा साथ दिएको छ।

