बूढानीलकण्ठमा एकै कोठामा महिला-पुरूषकाे शव फेला, कुकुरसम्म पनि सुरक्षित रहेन


काठमाडौं— काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा एकैसाथ नेपाली महिला र भारतीय पुरुष मृत फेला परेका छन्। शनिबार धादिङ बैरेनीकी २८ वर्षीया अन्जना पाख्रिन (तामाङ) र भारत पञ्जाब चण्डीगढका ५४ वर्षीय परमनारायण गिल बूढानीलकण्ठ–४, पासिकोटस्थित एउटै घरभित्र मृत अवस्थामा फेला परेका थिए।

शुरुवाती अनुसन्धानमा यो घटना सामान्य नभई योजनाबद्ध ‘हत्या–आत्महत्या’ जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। अन्जनाको शव कोठाको सोफामाथि थियो, जहाँ उनको टाउकोमा गम्भीर चोट देखिएको छ। प्रहरीले घटनास्थलबाट फलामको हम्बर पनि बरामद गरेको छ।

गिल भने भुइँमा लम्पसार परेको अवस्थामा मृत भेटिएका थिए र उनको शरीरमा बाह्य चोट थिएन। प्रहरीका अनुसार उनले विषालु सल्फास नामक औषधि सेवन गरेको आशंका छ।

जानकारी अनुसार, अन्जना पाख्रिन करिब ६ महिनाअघ  गिलले सञ्चालित एक निजी प्रेसमा काम गर्न थालेकी थिइन्। गिलले साढे दुई तल्ले पूरै घर भाडामा लिएर प्रेस चलाउँदै आएका थिए।

प्रहरी अनुसन्धानमा अन्जना विवाहित थिइन् र उनका श्रीमान वैदेशिक रोजगारीमा दुबईमा रहेका छन्। गिलले पनि एक नेपाली महिलासँग विवाह गरेका थिए। तर उनकी पत्नी नेपालमा नरहेको खुलेको छ।

घटनास्थलमा गिलको कुकुर पनि मृत फेला परेको छ। शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ भने कुकुरको शव परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा लगिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले प्रारम्भिक अनुसन्धानका आधारमा गिलले अन्जनाको हत्या गरेर आत्महत्या गरेको सम्भावना उच्च देखिएको बताए।

घटनामा दुवै पक्षका वैवाहिक र पारिवारिक पृष्ठभूमि जटिल देखिएकाले प्रहरीले मोबाइल र डिजिटल संवादहरू, प्रेसमा भएको गतिविधि, र डेराको निगरानी फुटेज संकलन गरी अनुसन्धानलाई तीव्र बनाइएको छ।

प्रतिक्रिया