


संसदको अवरोध हटाउन सभामुखको लगातार प्रयास, राप्रपा र रास्वपा नेतासँग छलफल

काठमाडाैं – संसदमा जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग-अलग छलफल गरेका छन् ।
सभामुख घिमिरेले नयाँ बानेश्वरको संसद भवनस्थित कार्यकक्षमा छलफल रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग छलफल गरेका हुन् ।
छलफलमा सभामुख घिमिरेले कार्यवाहक अध्यक्ष अर्याललाई संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेकाले अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए ।
सभामुख घिमिरेले सदनलाई मर्यादित बनाउनसमेत ध्यानाकर्षण गराएका थिए । जवाफमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।
अध्यक्ष लिङ्देनसँग टेलिफोनमा कुराकानी गर्दै सभामुख घिमिरेले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारु गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

