


विद्युत् प्राधिकरणको बक्यौता तत्काल उठाउन डा. शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले नेपाल विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिलाइ गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले प्राधिकरणको आर्थिक दायित्व चाँडोभन्दा चाँडो संकलन गर्न जरुरी भएको बताएका हुन्।
उनले प्राधिकरणले कम्तीमा पनि २३ अर्ब रुपैयाँ व्यवसायिक घरानाबाट उठाउनुपर्ने भन्दै, “उठाउनुपर्ने पैसा नउठाउने अनि प्राधिकरण धराशायी बन्दैछ भन्ने गलत हो,” भने।
त्यसैगरी डा. कोइरालाले भिजिट भिसामा विदेशिने नेपालीसँग अध्यागमन शुल्क माग्नुपर्ने कुनै औचित्य नरहेको बताए। “देशभित्र रोजगारी सिर्जना गर्न नसक्ने अनि खुला रूपमा जान दिने नीतिमा पनि ढोंग गर्नु हुँदैन,” उनले भने।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा विद्युत् ऐन पारित हुने अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले देशको आवश्यकतालाई ध्यानमा राख्दै सरकारी निकायहरूलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री खड्काले सबै नागरिकको स्रोत माथिको समान अधिकार सुनिश्चित गर्दै जलविद्युत्मा शेयर वितरणमार्फत विपन्न वर्गलाई समृद्ध बनाउने योजनामा सरकार लागिपरेको बताए। उनले बजेटमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ प्रणालीमा सुधार गर्न ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी समेत दिए।
उनका अनुसार सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ, जसका लागि प्राधिकरणका कर्मचारीहरूको योगदान अनिवार्य रहने बताए।

