दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु, एकजना पक्राउ


काठमाडौँ- दोहोरी गायिका दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी छन्। प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा फेला परेकी हुन्।

सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ।

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन्।

यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन्। दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन्।

प्रतिक्रिया