


प्रचण्डको घोषणा: अब सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ तीन दलबीच भएको दुई बुँदे सहमतिपछि अब प्रतिनिधिसभाको बैठक सुचारु हुने बताएका छन्।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतिपत्रमा हस्ताक्षरको अन्तिम तयारी भइरहेको र त्यसपछि बैठक सञ्चालन हुने स्पष्ट पारे। उनले भने, “हस्ताक्षरको अन्तिम तयारी हुँदैछ। हस्ताक्षर हुन्छ, हाउस खुल्छ।”
प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने आफ्नै ढंगले अघि बढ्ने जानकारी दिए। उनका अनुसार रास्वपाका केही अडान रहेकाले उनीहरू सहमतिमा सहभागी नभए पनि मूलभूत विषयमा भने आफूहरूबीच कुनै विमति छैन।
उनले भने, “रास्वपासँग हाम्रो मूलभूत विषयमा केही समस्या छैन। तर, उहाँहरूका केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ। हाम्रोबीच विमति र आरोप–प्रत्यारोप छैन।”
रास्वपा भने गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। यद्यपि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएसँगै बैठक अब सुचारु हुने निश्चित भएको छ।

