नेपाल प्रहरीमा डिआईजी ‘भर्सेस’ डिआईजी !


काठमाडौं । एक हप्ताअघि गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गर्यो।

नयाँ दरबन्दी थपिएको तीन सातापछि डिआईजीत्रय बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गरेको हो।

एआईजी बढुवा समितिमा गृहसचिव संयोजक, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहन्छन् । समितिले सिंह, पन्त र धानुकलाई एआईजी बढुवा गर्ने सिफारिस गरेको हो।

तर, उनीहरुलाई गरिएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेपछि उजुरी हाल्नेमा तीनजना डिआईजी नै रहेका छन्।

सोमबार डिआईजीत्रय घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगको कार्यालयमा पुगेर उजुरी दिएका हुन्।

नियमावली अनुसार एआईजी बढुवा सिफारिसमा चित्त नबुझे लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा उजुरी सुन्ने समितिमा बढुवा सिफारिस भएको सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ। सोही अनुरुप पाँचौं दिनमा उजुरी परेको हो।

वरिष्ठता र कार्यक्षमताका आधारमा हुनुपर्ने बढुवामा मनपरी सिफारिस गरिएको र यो बढुवा नेपाल प्रहरीको नियमावलीविपरीत र स्वेच्छाचारी ढंगले भएको भन्दै उनीहरुले उजुरी दिएका छन्।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले एआईजी बढुवाउपर उजुरी परेको बताए। उजुरी सुन्ने समितिमा सरकारका मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहन्छन्।

उजुरी सुन्ने म्याद सकिएपछि आएको उजुरीको छानबिन सुरु गर्न बढुवा समितिसँग तीन नभित्र कागजपत्र माग्न सक्ने र उजुरी परेको १५ दिनभित्र उजुरी टुंगो लगाउनुपर्ने उल्लेख छ।

बढुवा सिफारिसमा कुनै त्रुटी भएको देखिए उजुरी सुन्ने समितिले लेखेर पठाउन सक्ने कानुनी प्रावधान छ। उजुरीको टुंगो नलागी सिफारिस कार्यान्वयन गर्न नसक्ने नियमावलीमा उल्लेख छ।

त्यसैले वैशाख १९ मा वर्तमान प्रहरी महानिरिक्षक (आईजी)सँगै उजुरीको तयारी गरिरहेका डिआईजीहरूले अनिवार्य अवकाश पाउँदैछन्। त्यसैले बढुवा सिफारिस भएका ३ डिआईजी तत्कालै परेको उजुरीलाई टुंग्याउनको लागि प्रधानमन्त्रीलाई सन्देश पठाइसकेको स्रोतले बतायो।

तर, यस अगाडि पटकपटक थपिएको दुई एआईजी पदमा कनिष्ठबाट विश्वराज पोखरेल र सहकुल थापाको बढुवा सिफारिस हुँदा भने उजुरी परेको थिएन। उनीहरू एआईजी भइसकेका छन्।

अहिले उजुरीको तयारी गरेकाहरु तेस्रो पटक भएको एआईजी बढुवाको सिफारिसमा छुटेका हुन्। पन्त आईजी क्षेत्रीको ब्याची हुन् भने सिंह र धानुक पोखरेलका ब्याची हुन्।

प्रहरी संगठनभित्र सिंह र धानुक काविल प्रहरी अधिकृतको रुपमा चिनिएका छन्। त्यसैले उनीहरु दुवैजना प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाईमा परेका हुन्। धावी नेतृत्वको लागि समेत उनीहरु दाबेदार हुन्।

अहिलेको व्यवस्थाअनुसार कार्य सम्पादन मूल्यांकन (४० अंक), ज्येष्ठता (२० अंक), भौगोलिक क्षेत्रमा काम गरेको अनुभव (८ अंक), शैक्षिक योग्यता (१० अंक), तालिम (७.५ अंक), चुनौती वा विषेश जिम्मेवारी (५ अंक), विभुषण (२ अंक) र बढुवा समिति (७.५ अंक)का आधारमा कुल एक सय अंकमा सबैभन्दा बढी अंक ल्याउनेमध्येबाट बढुवा गर्ने व्यवस्था छ।

केही समयअघि विभुषणबापतको २ अंक कटाएर ज्येष्ठताबापतमा मिसाइएको छ। यही व्यवस्थालाई टेकेर बढुवा गरिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन्।

प्रतिक्रिया