कारागारमा पालीकाे मृत्युले डडेल्धुरा तनावग्रस्त, सुदूरपश्चिमकाे यातायात प्रभावित


डडेल्धुरा- डडेल्धुराकाे स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारी साधन पूर्ण रूपमा रोकिएका छन्।

यसका कारण क्षेत्रीय यातायात र जनजीवन ठप्प भएका छन्। डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृत्यु भएपछि न्याय माग्दै चक्काजामको गरिएकाे हाे।

पछिल्लो हप्ता कैलाली जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउपछिको दुई दिनभित्रै असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको थियो।

पालीको परिवार र स्थानीय संघसंस्थाहरूले प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन्। मृतकका आफन्तहरूले पालीमाथि नियोजित यातना भएको र प्रहरी नायब निरीक्षक हरजित नाथले पटक–पटक रकम मागेको बताए।

डडेल्धुराका स्थानीय उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, नागरिक समाज लगायतका संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा दोषी प्रहरी र जिम्मेवार निकायविरुद्ध कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रहरीका अनुसार पालीको मृत्यु स्वास्थ्य समस्या कारण भएको दाबी गरिएको छ तर मृतकको शरीरमा देखिएका चोटपटक, रगत बगेको र सिसिटिभी फुटेज नहुनु शंका बढाएको छ।

यस घटनाले डडेल्धुरा तनावग्रस्त बनेको छ र आफन्तहरूले दोषीको कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्।

सुदूरपश्चिमका सातै पहाडी जिल्लासम्म आवतजावत गर्ने मार्ग नै बन्द हुँदा क्षेत्रीय व्यापार, स्वास्थ्य सेवा र दैनिक जीवनमा ठूलो समस्या उत्पन्न भएको छ।

स्थानीय प्रशासन र प्रहरीले शीघ्र समस्याको समाधान गर्न पहल गरिरहेको भए पनि तनाव कायमै रहेको छ।

प्रतिक्रिया