


धरान उपमहानगरमा मेयर र उपमेयर पक्षबीच तनाव

धरान – धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच सोमबार र मंगलबार दुई दिन तनावपूर्ण अवस्था सिर्जना भएको छ। सोमबार उपमहानगरको कार्यालय परिसरमै विवाद र नाराबाजीसँगै झडपको स्थिति बनेको थियो भने मंगलबार उपमेयर पक्षधरहरूले साम्पाङविरुद्ध प्रदर्शन गरेका छन्।
सोमबार अपरान्ह मेयर साम्पाङले उपमेयर बेघालाई कार्यकक्षमा छलफलका लागि बोलाएपछि विवाद चर्किएको थियो। छलफलकै क्रममा मेयरका समर्थकहरूले उपमेयरमाथि हातपात गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि उपमहानगरको बाहिरी परिसरमा दुवै पक्षका समर्थकहरू आमनेसामने भएर एक-अर्काविरुद्ध नाराबाजी गरेका थिए।
झडपको अवस्था देखिएपछि स्थानीय प्रहरी टोलीले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको थियो। यद्यपि स्थानीय प्रशासनले स्थिति अझै संवेदनशील रहेको जनाएको छ।
मंगलबार उपमेयर बेघाका समर्थकहरू उपमहानगरपालिका परिसरमा जम्मा भएर मेयर साम्पाङको विरोधमा उत्रिएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा राख्न सुरक्षा सतर्कता बढाएको छ।
यस घटनाले उपमहानगरको आन्तरिक राजनीति र आगामी बजेट प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ।

