


राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई पुनः पदमा फर्काउने गरी उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको हो ।
उच्च अदालतले ‘२०८२ जेठ २० गतेको निलम्बन आदेश कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिन’ महानगरका सम्बन्धित निकायहरूलाई अन्तरिम आदेश दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले महानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डे नेतृत्वको नगर प्रहरी टोलीले अवरोध गरेको आरोप लागेको थियो । सोही घटनालाई लिएर महानगरले छानबिनका लागि प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा समिति पनि गठन गरेको थियो ।
यही घटनालाई आधार बनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते पाण्डेलाई निलम्बन गरेका थिए । तर, पाण्डेले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

