

डिआईजी सरुवाको तयारी, कार्कीलाई मधेश प्रदेश पठाइँदा, राणा ट्राफिक महाशाखामा

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका डिआईजीको सरुवा तयारी गरेको छ । सरकारले मंगलबार एआईजीको सरुवा गरेलगत्तै गृहमन्त्रालयले डिआईजीको सरुवाको तयारी गरेको हो ।
स्रोतका अनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डिआईजी दानबहादुर कार्कीलाई मधेश प्रदेश प्रमुखका रुपमा पठाउने तयारी गरिएको छ भने मधेशमा रहेका यज्ञविनोद पोखरेल प्रहरी प्रधान कार्यालयमा ल्याइन लागेको छ ।
त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा रहेकी किरण राणालाई भने उपत्यका ट्राफिक प्रहरी महाशाखा पठाइन लागेको स्रोतले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी बसन्त रजौरेको पनि सरुवा गर्ने भएको छ ।
वैशाख १४ गते काठमाडौं परिसरको जिम्मेवारी लिएका रजौरेको ३ महिनामै सरुवा हुन लागेको हो ।
उनको स्थानमा यसअघि संगठनका सहप्रवक्ता रहेका एसएसपी विश्व अधिकारीलाई पठाइने भएको छ ।

