


डडेल्धुराका व्यवसायीको कारागारमा शंकास्पद मृत्यु, प्रहरीमाथि यातनाको आरोप

डडेल्धुरा— डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको कारागारमा रहस्यमय मृत्यु भएपछि जिल्लामा चर्को विरोध सुरु भएको छ। बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको भन्दै उनका आफन्त र स्थानीय संघसंस्थाले डडेल्धुरा सदरमुकाममा बजार र यातायात पूर्ण रूपमा बन्द गराएका छन्।
पालीलाई गत फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरी कैलाली लगिएको थियो। पक्राउपछिको दुई दिनभित्रै, असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो।
मृतकका काका पदम सिंह पालीले पालीमाथि नियोजित रूपमा प्रहरीले यातना दिएको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, प्रहरी नायब निरीक्षक हरजित नाथले पहिले पनि पटक–पटक रकम माग्दै आएका थिए। “महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर रकम असुली गरिएको थियो,” उनले भने, “त्यसपछि पनि असार २ गते नाथकै खातामा ८५ हजार ट्रान्सफर गर्यौं तर त्यसपछिको व्यवहार निन्दनीय थियो। शरीरभर निलडाम थियो, टाउकाबाट रगत बगेको देखिएको छ।”
मृतकका दाजु जगदीश रावलका अनुसार पालीमाथि कारागारभित्रै शारीरिक यातना दिइएको थियो। “यो घटनाको सत्यतथ्य सार्वजनिक हुनु आवश्यक छ, दोषीलाई कडा कारबाही हुनुपर्छ,” उनले भने।
यता, जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले भने पालीको मृत्यु स्वास्थ्य समस्याका कारण भएको दाबी गरेका छन्। “सोमबार अचानक बिरामी भएपछि उनलाई सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो,” उनले भने, “अस्पताल पुगेको आधा घण्टामै मृत्यु भएको हो।” सिंहका अनुसार, जाहेरी नआएको कारण पोस्टमार्टम पनि अझै भएको छैन।
तर मृतकको शरीरमा देखिएको निलडाम, रक्तस्राव, र प्रहरीबाट प्राप्त नहुनु सिसिटिभी फुटेजले परिवारजनलाई हत्या शंकालाई अझ बलियो बनाएको छ।
घटनापछि डडेल्धुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, बैंकर संघ, नागरिक समाज लगायतका संस्थाहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका छन्। प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा संघले भनेको छ, “पालीलाई चार दिनसम्म गैरकानुनी रूपमा प्रहरी नियन्त्रणमा राखी मानसिक र शारीरिक यातना दिइयो, यसैका कारण मृत्यु भएको देखिन्छ। दोषी प्रहरी नायब निरीक्षक हरजित नाथसहितको तत्काल कारबाही हुनु पर्छ।”
संघसंस्थाले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पिडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै चेतावनी दिएका छन्। “यदि यथाशीघ्र न्याय नपाइए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ” उनीहरूले भनेका छन्।
यसबीच मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। आफन्तले दोषीको कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। पोस्टमार्टम नहुँदा घटनाको यथार्थ अझै अस्पष्ट छ भने डडेल्धुरा तनावग्रस्त बनेको छ।

