सामाजिक सञ्जालमा अमर्यादित सामग्री प्रकाशन गरेकाे आरोपमा ‘ड्राइभर रेशम’ पक्राउ


काठमाडाैं- नेपाल प्रहरीको साइबर ब्युरोले युट्युब र सामाजिक सञ्जालमार्फत निरन्तर रूपमा भ्रमपूर्ण, अपमानजनक र अमर्यादित सामग्री प्रसारण गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन्। उनी ‘ड्राइभर रेशम’ को नामले सामाजिक सञ्जालमा चिनिन्छन्। उनलाई नेपालगञ्जको रुपैडियाबाट केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा नियन्त्रणमा लिइएको ब्युरोले जानकारी दिएको छ।

प्रहरीका अनुसार पौडेलले विभिन्न व्यक्ति तथा संस्थामाथि तथ्यहीन, आधारहीन र भ्रामक अभिव्यक्ति दिँदै डिजिटल माध्यममा सामग्री पोस्ट गर्दै आएका थिए। साथै, उनले अपशब्द प्रयोग गर्दै सार्वजनिक नैतिकता र सामाजिक शिष्टाचारविरुद्धका भिडियो र पोस्टहरू सम्प्रेषण गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

प्राविधिक विश्लेषणपछि उनको संलग्नता पुष्टि भएपछि नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। पौडेलमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अभियोगमा मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर विस्तृत अनुसन्धान अगाडि बढाइएको साइबर ब्युरोले जनाएको छ।

प्रतिक्रिया