


दाउन्ने सडकखण्डमा वर्षापछिको हिलोले सवारी अवरुद्ध, ४५ किलोमिटर लामो जाम

काठमाडौं- गएरातिको लगातारको वर्षापछि महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड हिलोले भरिँदा सवारी आवागमनमा ठूलो समस्या उत्पन्न भएको छ । पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको झन्डै ४५ किलोमिटर क्षेत्रमा गाडीहरू फसेर लामो जाम भएको हो ।
कावासोती प्रहरी इन्स्पेक्टर जनकराज बन्जराले बिहान ५ बजेदेखि नै गाडीहरू हिलोमा फसेको बताए । हिलोमा फसेका सवारीसाधन हटाउन नसकिँदा हजारौं यात्रु जाममा अलपत्र परेका छन् । उनका अनुसार, अहिले अस्थायी रूपमा डाइभर्सन बनाइएको छ र एकतर्फी रूपमा मात्रै सवारी चलाइएको छ ।
“डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालनमा ल्याइएको छ तर ठूलो संख्यामा गाडीहरू सडकमै होल्डमा छन्,” इन्स्पेक्टर बन्जराले भने, “एकतर्फी मात्रै गाडी चलिरहेकोले पूर्ण रूपमा जाम हट्न अझै धेरै समय लाग्नेछ ।”
प्रहरी र स्थानीय प्रशासनको प्रयासमा अवरुद्ध सवारी चलाउने कार्य जारी छ ।

