


रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्ने आदेश

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनसम्बन्धी अभियोगमा उनीमाथि मुद्दा दायर गरिएको थियो। सोही मुद्दाका सन्दर्भमा काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतमा स्वेच्छिक रूपमा उपस्थित भएका मिश्र प्रहरीको फरार सूचीमा रहेका थिए। सोही घटनामा संलग्न भन्दै राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार नै तीन लाख धरौटीमा छुटिसकेका छन्।
यद्यपि घटनाका योजनाकारका रूपमा प्रस्तुत गरिएका दुर्गा प्रसाईं भने अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका छन्। चैत १५ को आन्दोलन अराजक बन्दै गएपछि प्रसाईं र धवलशमशेर भागेका थिए भने रवीन्द्र मिश्र फिल्ड कमान्डरका रूपमा सक्रिय देखिएका थिए।
तीनकुने घटनाका सिलसिलामा मिश्रलाई सोही दिन नै पक्राउ गरिएको थियो र जिल्ला अदालतबाट म्याद थप गरी थुनामा राखिएको थियो। पछि मिश्रकी श्रीमती शारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जेठ २ गते उनलाई रिहा गर्न आदेश दिएको थियो।
रिहाइपछि प्रहरीसमक्ष समयमै हाजिर नभएको भन्दै उनलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

