रास्वपा सांसदले बिहे नगरी बच्चा जन्माउँछु भनेपछि…


काठमाडाैं- हिन्दू धर्म र परम्परामा विवाहलाई एक पवित्र संस्कारका रूपमा लिइन्छ । वैदिक मान्यताअनुसार विवाहले मात्र स्त्री-पुरुषबीचको सम्बन्धलाई वैधानिकता र सामाजिक स्वीकृति प्रदान गर्छ । तर हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले विवाह नगरी बच्चा जन्माउने विचार सार्वजनिक रूपमा राखेपछि उनी व्यापक विवादमा मुछिएकी छन् ।

एक पोडकास्टमार्फत उनले भनेकी थिइन्, “आई ह्याभ अ बोइफ्रेण्ड, हि इज भेरी नाइस बट मैले उहाँलाई भनेकी छु, आई डण्ट वाण्ट टु गेट म्यारिड ।” उनले विवाह बिना पनि बच्चा जन्माउने इच्छा व्यक्त गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको हो ।

सांसद कठायतको उक्त अभिव्यक्तिपछि विभिन्न सामाजिक र धार्मिक पृष्ठभूमिका व्यक्तिहरूले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रभाकर दवाडीले लेखेका छन्, “रास्वपाले त समाजलाई अराजकतातिर लैजाने प्रयत्न गरिरहेको जस्तो देखियो ।” भुवन कठायतले भने काँग्रेस र कम्युनिष्टले तीन दशकमा सकाएको देश रास्वपाले तीन वर्षमै तहसनहस पार्न लागिरहेको टिप्पणी गरेका छन् ।

नेता माधव नेपालले कठायतको विचारलाई सार्वजनिक व्यक्तित्वका लागि ‘गम्भीर चूक’को संज्ञा दिएका छन् । उनले भनेका छन्, “उनको पर्सनल विचार हो, तर सार्वजनिक पदमा बसेको व्यक्तिले बोलेको हरेक शब्दको अर्थ हुन्छ । जान्नेहरुको बाहुल्यता भएको पार्टीबाट यस्तो अपेक्षा थिएन ।”

कठायतको भनाइलाई कतिपयले व्यक्तिगत स्वतन्त्रता भन्दै समर्थन गरेका छन् भने अधिकांशले नेपाली समाजको परम्परा, संस्कृति र नैतिक मूल्यविपरीत भएको भन्दै विरोध जनाएका छन् ।

प्रतिक्रिया