


सन्दीपको शानदार चार विकेटसँगै स्कटल्यान्डविरुद्ध नेपाल विजयी

काठमाडौं – त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको जित हात पारेको छ ।
टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको खेलमा नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड ९७ रनमा समेटिएको थियो । नेपालले ९८ रनको लक्ष्य १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि भुर्तेलले ३० रन बनाउँदा लोकेश बम ९ रनमा आउट भए भने अनिल शाह दोस्रो खेलमा पनि ३ रनमै आउट भए । कप्तान रोहित पौडेल ७ रनमा आउट भएपछि भुर्तेल र दिपेन्द्र सिंह ऐरी मिलेर नेपाललाई जिततर्फ डोर्याएका थिए । दीपेन्द्र १४ रनमा आउट भए । नेपालका लागि बसिर अहमदले १३ रन बनाएका थिए भने किरण ठगुन्नाले १० रन बनाए । नेपाललाई जित दिलाउने क्रममा रुपेश सिंह ६ रनमा आउट भए । नेपालका करण केसी र सन्दीप लामिछाने नटआउट रहे । सन्दीपले विजयी रन प्रहार गरेका थिए ।
त्यसअघि टिटउट रंशालामा पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् ।
यसअघि सन्दीप लामिछानेले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए । यसअघि सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँगे तेस्रो सुपरओभरमा पराजित भएको थियो ।

