


इटहरीको होटलमा बन्धक बनाइएका १२ किशोरी उद्धार, २ जना पक्राउ

काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्क क्षेत्रको एक होटलबाट बन्धक बनाइएका १२ किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
ती किशोरीहरूलाई ‘ब्लेस ग्लोबल इन्टरनेसनल’ नामक अनलाइन मार्केटिङ कम्पनीले मासिक १५–३० हजार तलबको प्रलोभन देखाएर बोलाएको थियो । तर उनीहरूलाई होटलको एउटै कोठामा राखी काम नदिई बन्धक बनाइएको र केहीमाथि यौन दुर्व्यवहार समेत भएको उजुरीका आधारमा प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएकामध्ये दुई जना नाबालिका रहेका छन् । नाबालिकाहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने अन्यलाई अस्थायी रूपमा होटलमै प्रहरी सुरक्षामा राखिएको छ ।
इलाका प्रहरी कार्यालय, मानव अधिकारकर्मी तथा सामाजिक संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ को सहयोगमा मंगलबार उनीहरूलाई मुक्त गरिएको हो ।
प्रहरीका अनुसार सिन्धुपाल्चोककी एक युवतीले काठमाडौंमा काम लगाइदिने भन्दै फसाइएकी थिइन् । उनका अनुसार इटहरी आएपछि उनीहरूलाई होटलमा बन्धक बनाई दुर्व्यवहार गरिएको थियो ।
यस घटनामा संलग्न आरोपमा ओखलढुङ्गाका २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बुकी २२ वर्षीया टीका कट्टेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
ब्लेस ग्लोबल कम्पनी तथा अन्य संलग्नहरूबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

