चितवन–३ मा प्रचण्डलाई चुनाव जित्नु फलामको च्युरा चपाउनु सरह किन हुनेछ?


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बितेका बर्षहरूमा सबैभन्दा बढी धाएको चितवनको आफ्नो निर्वाचन क्षेत्र हो। चितवन–३ बाट विजयी भएका प्रचण्ड गृहजिल्लाबाट निरन्तर चुनाव जित्नुपर्ने रणनीति र अभ्यासमा छन्।

हालै मात्र चितवन पुगेर उनले गठबन्धन चुनावसम्मै कायम रहने बताएका थिए। अघिल्लो प्रतिनिधि सभा चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेका प्रचण्डका लागि आगामी आम निर्वाचनमा आफ्नो क्षेत्रमा जित निकाल्न कति कठिन कति सहज छ भन्ने लेखाजोखा हुन थालेको छ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कायम गरी गठबन्धन बनाएका प्रचण्डलाई कांग्रेसको सहयोग रहेको खण्डमा आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न सजिलो हुनेछ। तर कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले अब त्यो भूल नहुने बताइसकेका छन्।

प्रचण्डले गठबन्धन तलसम्म नै रहने बताएको दुई दिन पनि नबिती चितवनमा नेपाली कांग्रेसको कार्यक्रममा श्रेष्ठले भनेका छन्,‘हिजो हसियाँ हथौडामा भोट हाल्दा हामीलाई कस्तो नमिठो भएको छ, अब रुखभन्दा बाहिर भोट खस्दैन।’

उनले केन्द्रमा जस्तोसुकै गठबन्धन भए पनि चितवन कांग्रेसको निर्णय आफूहरुले गर्ने भन्दै प्रचण्डका लागि वा भरतपुर महानगरपालिकाका लागि कुनै निर्देशन नमान्ने धावा समेत बोलेका छन्। उनले भने,‘महामन्त्री यहिँ हुनुहुन्छ। चितवन कांग्रेसको निर्णय हामी गर्नेछौं।’

प्रचण्डले आगामी चुनावका लागि जस्तो तयारी गरिरहेका छन् श्रेष्ठको चुनौतिले एउटा धक्का लाग्ने सम्भावना छ। प्रचण्डले आगामी चुनावमा एमालेको साथ नपाएको खण्डमा पनि निर्वाचन क्षेत्रमा कमजोर हुने प्रक्षेपण गरिएको छ। एमालेबाट खण्डित भएको माधवकुमार नेपालको एकीकृत समाजवादीको शक्ति कति छ भन्नेचाहिँ यकिन हुन सकेको छैन। तर, जानकारहरू भन्छन्,‘चुनावका बेला ति सबै एमालेलाई नै मत हाल्न तयार हुनेछन्।’

प्रचण्डका लागि निर्वाचन क्षेत्रमा प्रतिस्पर्धाका खरो पात्र हुन् राप्रपाका विक्रम पाण्डे। उनका निकटतम प्रतिस्पर्धीका रुपमा पाण्डे उक्त क्षेत्रमा चुनावी मैदानमा हुनेछन्।

राप्रपा विभाजित भएको अवस्थामा पनि पाण्डेसँग प्रचण्डको जित नौ हजार र केही बढी मतले मात्र भएको थियो। तर, अहिले राप्रपा एकीकरण भइसकेको छ।

पाण्डेको भन्दा प्रचण्डले ९ हजार ३४१ मत बढी पाएका थिए। त्यसबेला उनलाई एमालेको साथ थियो। प्रचण्डले ४८ हजार २७६ मत ल्याए भने पाण्डेले ३८ हजार ९३५ मत पाएका तिए।

तर अबको समीकरणमा एमालेले पाण्डेलाई सघाउने आन्तरिक तयारी छ। कतिपयले एमालेले पाण्डेसँग उक्त निर्वाचन क्षेत्रमा गठबन्धन गरी झापामा अध्यक्ष केपी शर्मा ओलीसँग साझेदारी गर्न सक्ने पनि चर्चा सुरु भएको छ।

‘एमाले कुनै पनि हालतमा उक्त निर्वाचन क्षेत्रमा आफ्नो बिजय भन्दा पनि प्रचण्डको पराजय चहान्छ। खासगरी अध्यक्ष ओली उक्त रणनीतिमा लागेका छन्’, स्थानीय भन्छन्,‘प्रचण्डको पराजयका लागि पाण्डेसँगको गठबन्धन स्वभाविक रुपमा हुनेछ भने अन्य राम जन्मथलोको मुद्दा पनि त्यसबेला उचालिन सक्छ जुन प्रचण्डका लागि फलामको च्युरा चपाउनु सरह हुनेछ।’

प्रतिक्रिया