रोमाञ्चक भिडन्तमा नेपालविरूद्ध नेदरल्याण्ड्सले बाजी मार्यो, तेस्रो सुपरओभरसम्म पुग्यो खेल


काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । रोमाञ्चक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

पहिलो र दोस्रो सुपर ओभरमा बराबरी भएपछि तेस्रो सुभर ओभरमार्फत जितको टुंगो लागेको थियो । तेस्रो सुपर ओभरमा पहिलो बलमा नै कप्तान रोहितलाई गुमाएको नेपालले रन बनाउन सकेन् ।

आजको खेलमा नै डेब्यु गरेको रुपेश कुमार सिंहले सुपर ओभरमा तीन बल डट खेलेर आउट भए । पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए ।

त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४८ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । यस्तैओपनर कुशल भुर्तेलले ३४ रन बनाए । आज डेब्यू गरेको किरण ठगुन्नाले १५ रन बनाउँदा रुपेश सिंहले पनि १९ रनको योगदान दिए ।

करण केसी ८ रनमा आउट हुँदा लोकश वम शुन्य रनमा नै पेभेलियन फर्किए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३, अनिल शाहले एक रन बनाए ।

नेदरल्याण्डका डेनियल डोरमले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

त्यसअघि स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।

प्रतिक्रिया