


केदारनाथ यात्रामा फर्जी बिरामी बनाउने धन्दा, एम्बुलेन्समा भेटिए ‘लक्जरी यात्रा’ गर्ने तीर्थयात्री

देहरादून – भारतकाे उत्तराखण्डस्थित केदारनाथ यात्राको सिजनमा भीडभाड बढिरहेका बेला शनिबार सोनप्रयाग नजिकै ड्युटीमा खटिएको प्रहरीले दुईवटा एम्बुलेन्सको संदिग्ध गतिविधिमा ध्यान दियो। ती एम्बुलेन्सहरू तेज गतिमा साइरन बजाउँदै गौरीकुण्डतर्फ जाँदै थिए। जुन स्थान केदारनाथसम्मको १६ किलोमिटरको पैदल यात्राको थालनी बिन्दु हो।
तर त्यहाँ न त कुनै मेडिकल इमरजेन्सीको जानकारी आएको थियो, न कुनै दुर्घटना रिपोर्ट भएको थियो। अझ त्यहाँ नजिकैको गौरीकुण्डमा अस्पतालसमेत छैन। ती एम्बुलेन्सहरूमा न बिरामी थिए, न स्ट्रेचर, न स्वास्थ्यकर्मी। बरु, तिनीहरूमा तीर्थयात्रीका भेषमा तीन जना व्यक्तिहरू साधारण यात्रुको रूपमा बसेका थिए।
जाँचपश्चात ती एम्बुलेन्सहरू ‘आरामदायी’ यात्राका लागि भाडामा लिइएकाे खुलासा भयो। एक एम्बुलेन्स ‘लक्जरी’ एसी मोडल रहेको र एउटा तीर्थयात्रीले व्यक्तिगत रूपमा बुक गरेको बताइएको छ। अर्काे सामान्य एम्बुलेन्समा दुई जना थिए। यात्राका क्रममा हरिद्वारदेखि तीन अन्य व्यक्तिहरूलाई समेत चढाइएको थियो, जसले ती गाडीलाई ट्याक्सीझैं प्रयोग गरिएको पुष्टि गर्यो।
प्रहरीका अनुसार, सोनप्रयाग र गौरीकुण्डबीचको झन्डै २ किलोमिटरको बाटो पैदल वा साझा सवारीमार्फत पार गरिन्छ। त्यही दूरी एम्बुलेन्समार्फत पार गरेर ती यात्रुहरूले भीड र लाइन छल्ने प्रयास गरेका थिए।
प्रहरीका एक सदस्यले भने, “एम्बुलेन्स गौरीकुण्डतर्फ जानु आफैंमा शंका पैदा गर्ने कुरा थियो। बिरामी भए सोनप्रयाग, रामपुर वा रुद्रप्रयागतर्फ लैजानुपर्ने हो। त्यस्तो इमरजेन्सी कुनै थिएन।”
जाँचको बेला ती तीनजना यात्रु भिडको फाइदा उठाउँदै भागे। दुवै चालकहरू हरिद्वारका निखिल विल्सन मसीह र अमरोहाका कृष्ण कुमार लाई मोटर सवारी ऐन अन्तर्गत कारबाही गर्दै चालान गरिएको छ।
चालकहरूले आफूहरूलाई गाडी मालिकको निर्देशनअनुसार मात्र चलाएको दाबी गरे। “हामीलाई के थाहा पैसाको लेनदेन कति भयो? हामी त गाडी चलाउने काममै थियौं,” एक चालकले प्रहरीलाई भने।

