
८१ दिनपछि डिस्चार्ज भइन् प्रहरीको गोलीबाट घाइते भएकी रेबिका खत्री
काठमाडौं- गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट गम्भीर घाइते भएकी रेबिका खत्री ८१ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट सोमबार डिस्चार्ज गरिएको हो।
घटनामा खुट्टामा गोली लागेपछि उनको उपचार सिभिल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टर र टिचिङ अस्पतालमा भएको थियो। उनका बुबा तुलसीराम खत्रीका अनुसार रेबिकालाई अहिले पनि हिँडडुल गर्न सक्ने अवस्था छैन। “गोली लागेको खुट्टामा स्क्राफ्ट गरिएको छ, हात समाइदियो भने उभिन सक्छिन्, तर हिँड्न सक्दिनन्,” उनले भने।
उनी हाल प्रत्येक तीन दिनमा फलोअपका लागि अस्पताल आउनुपर्नेछ। चिकित्सकहरूका अनुसार खुट्टाको अवस्था विस्तारै सुधार भइरहेको भए पनि पुरानै अवस्थामा फर्कन नसक्ने बताएका छन्।
खत्री परिवारका अनुसार अहिलेसम्म रेबिकाको उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। “टिचिङमा मात्रै साढे दुई लाख खर्च भयो,” उनले बताए, “तर हामीले हाम्रो बसाइ र खाना खर्च गने छैनौं।”
गृहमन्त्री रमेश लेखकले उपचार र कुरुवाको खर्च सरकारबाट व्यहोर्ने आश्वासन दिएको र सोही अनुसार टिचिङ अस्पतालको खर्च फिर्ता हुने आशामा रहेको खत्रीले जनाए। तर सिभिल अस्पतालमा लागेका करिब ८ लाख रुपैयाँ उपचार खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ।
“हामीले सम्पूर्ण बिल पेश गरेका छौं,” उनले भने, “काम हुँदैछ भनिएको थियो तर अहिलेसम्म रकम आएको छैन।”
फलोअप उपचार भने निःशुल्क हुने बताइएको छ।



कागजपत्र |
