


संसद् जबरजस्ती अगाडि बढाउनु मर्यादाविपरीत : लिङ्देन

काठमाडौं- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकामाथि छानबिन गर्न सरकारले अस्वीकार गरेपछि संसदमा थप तनाव चुलिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय मर्यादा उल्लङ्घन भएको भन्दै प्रतिनिधिसभाको सोमबारको बैठक बहिष्कार गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा विवादास्पद विषयहरूको समाधान नगरी जबरजस्ती रूपमा कारबाही अघि बढाइएको आरोप लगाए। उनले संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख देवराज घिमिरेले विरोधमा रहेका दलहरूलाई संवादमा ल्याउने जिम्मेवारी पूरा गर्नुपर्नेमा उल्टै “भद्रगोल तरिकाले” सदन सञ्चालन गरेको आरोप लगाए।
“सभामुख संसद्को अभिभावक हो — एक सिटको पनि, सय सिटको पनि। संसद् जबरजस्ती अगाडि बढाउनु संसदीय मर्यादाविपरीत हो,” लिङ्देनले भने, “यस्तो बैठकमा हामी सहभागी हुँदैनौँ। संसद् कर्मकाण्डमा परिणत भएको अवस्थामा राप्रपा त्यसको हिस्सा हुने छैन।”
उनले बहिष्कार अवधिमा राप्रपाका सांसदहरूको नाममा आउने बैठक भत्ता राजस्वमा फिर्ता गर्नसमेत आग्रह गरे। साथै लिङ्देनले साना तथा ठूलो दलबीच गणितीय हिसाबले मतको फरक भए पनि विचारको सम्मानमा सबै समान हुनुपर्ने बताए।
रास्वपाले पनि भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै सदनमा नाराबाजी जारी राखेको छ। दुबै दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।
सरकार र सत्तारूढ गठबन्धनले भने उक्त मागलाई बेवास्ता गर्दै संसद् सञ्चालन जारी राखेको छ। सभामुख घिमिरेले बैठक निरन्तरता दिँदै आएका छन्, जसप्रति असन्तुष्ट विपक्षीहरू संसद्बाट बाहिरिने निर्णयमा पुगेका हुन्।
राप्रपा अध्यक्ष लिङ्देनले भने, “हामी इस्युमा रास्वपासँग एउटै ठाउँमा छौँ, अहिले अलग ढङ्गले प्रस्तुत भए पनि आवश्यक परे सहकार्य गर्न सक्छौँ।”

