३३ सय किलो तस्करी, सेनाका पूर्वजर्नेलसहित को-को छन् फरार ?


काठमाडौं– नेपाल पछिल्लो समय तस्करको अखडा बन्दै गएको पाइएको छ । प्रहरी र सरकारी तथ्यले नै यसको पुष्टि गरेको हो ।

नेपालीबाहेक सबैभन्दा बढी सुन तस्करीको गिरोहमा चिनियाँ नागरिक छन् । केही तस्करीमा भारतीयको पनि संलग्नता देखिएको छ ।

चिनियाँ तस्करको गिरोहले नेपालमा करिब एक वर्षको अवधिमा झण्डै ३३ सय किलो सुन तस्करी गरेको पाइएको छ ।

०७९ मंसिरदेखि ०८० साउनसम्ममा तीन हजार दुई सय ९४ केजी सुन तस्करी गरेको निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको छ ।

यो सुन तस्करीमा ७२ जनाको गिरोह संलग्न रहेको समेत खुलेको छ ।

यो प्रकरणमा पहिलो चरणको अनुसन्धानमा २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो भने दोस्रो चरणको विस्तृत अनुसन्धानमा थप ४३ जनाको संलग्नता खुलेको छ ।

दोस्रो चरणको अनुसन्धान अन्तिम तयारीमा पुगेसँगै सरकारी वकिलमार्फत अभियोजन गर्न लागिएको एक अधिकृतले बताए ।

सिआइबीले दोस्रो चरणमा मुद्दा चलाइएकामध्ये २० जनालाई थुनामा राखेरै अनुसन्धान गरिरहेको छ ।

२० जनामध्ये १२ जना सुन ओसारपसारमा संलग्न तथा आठजना तस्करीको पैसा हुन्डीमार्फत पठाउने र लिने कार्यमा संलग्न रहेको खुलेको छ । पक्राउ पर्नेमा चिनियाँ र भारतीय नागरिक समेत छन् ।

सिआईबीका एक अधिकृतका अनुसार सुन तस्करी कारोबारमा सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल, प्रशान्त गणेश बजबलकर, राजु खत्री, प्रेमनाथ सेढाइ र सुरेन्द्रमान श्रेष्ठको संलग्नता पाइएको छ ।

चिनियाँहरू जेन्जा झाझी र सेराप भनिने सोनाम गुरुङ पनि पक्राउ परेका छन् । सोनामसँग नेपाली नागरिकता समेत भेटिएको थियो ।

तस्करीको पैसा हुन्डीमार्फत विदेश पठाउन सहयोग गर्ने डिजिटल पेमेन्ट वालेट कम्पनी पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा, सिइओ काश्यप मानन्धर, लालबहादुर कुँवर र अरुणकुमार यादव पनि पक्राउ परेको एक अधिकृतले कागजपत्रलाई बताए ।

उनका अनुसार अझै २० जना बढी फरार छन् । फरार रहेकामा भारतीय तस्करी गिरोहका नाइके पिन्टु भएको खुलेको छ । उनले चिनियाँसँग सिधै सुन किनेर भारत लैजाने गरेको अनुसन्धानमा खुलेको छ ।

सिआइबीले पेवेल नेपालका सञ्चालक नेपालभूषण चन्दको पनि खोजी गरिरहेको छ ।

उनी नेपाली सेनाका पूर्वरथी समेत हुन् । एक अधिकृतका अनुसार चन्दसहित सजिलो पेका अध्यक्ष सुनिल जाकिबन्जा पनि फरार सुचीमा छन् ।

एक अधिकृतका अनुसार डिजिटल वालेट कम्पनीले गरेको करोबारमा सबैभन्दा बढी कारोबार अवैध सुनका लागि देखिएको छ । यसमा झण्डै २ अर्ब बराबरको कारोबार देखिएको छ ।

सिआइबीका अधिकृतका अनुसार दुवै कम्पनीको खाता राष्ट्र बैंकले रोक्का गरिसकेको छ ।

सिआइबीले पहिलो चरणमा तीन सय ६२ केजी सुन तस्करी र दोस्रो चरणको अनुसन्धानमा दुई हजार नौ सय ३२ केजी सुन तस्करी गरेको निस्कर्ष निकालेको हो ।

सिआइबीले चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरेर राखेका सामान समेत बरामद गरेको थियो ।

सुन तस्करीमा भन्सारका कर्मचारीहरुको पनि संलग्नता देखिएको सिआइबीका अधिकृतले बताए ।

यहि प्रकरणबारे सिआइबीले आज पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया