वाइडबडी सी-चेक प्रकरणमा अख्तियारको चासो, माग्यो कागजात


काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आफ्नो अनुमतिविनै र आफूले मान्यता नदिएको कम्पनीमा ९ एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)का लागि पठाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।

अख्तियारले वाइडबडी सी–चेकका लागि कम्पनी छनोटमा अनियमितता भएको भन्दै उजुरी परेपछि सबै कागजपत्रसहित अध्ययन प्रतिवेदन मागेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल एयरलाइन्सको एन–एएलवाई कलसाइनको वाइडबडी सी–चेकमा कम्पनी छनोटका सम्बन्धमा सबै विवरण तथा अनुसन्धान प्रतिवेदन १५ दिनभित्र बुझाउन भन्दै पत्र काटेको हो ।

अख्तियारको पत्रपछि मन्त्रालयले नेपाल वायुसेवा निगलाई असार १२ गते नै २ दिन भित्रै सबै कागजपत्र बुझाउने भन्दै परिपत्र गरिसकेको छ ।

विभिन्न अनियमिततामा मुछिदै आएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वार्थका लागि बढी बजेट खर्च हुने इटालियन कम्पनी छनौट गरेको आरोप लागिरहेको छ । निगमले जहाज सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, अन्तिम समयमा अधिकारीले इटलीको एटिटेकलाई छनौट गरी वाइडबडी पठाएको बताइएको छ ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ३४ हजार २५० र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९८ हजार ५ सय अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो ।

प्रतिक्रिया