कांग्रेस–एमाले गठबन्धनपछि मौन प्रचण्ड, नियमित काममै व्यस्त


काठमाडौं– कांग्रेस–एमाले गठबन्धनले नयाँ समिकरणको जन्म भएको छ । यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हटाउन एमाले नै सक्रिय भयो ।

नयाँ समिकरणअनुसार पहिलो चरणको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्नेछन् । कांग्रेस  बैठकले समेत एमालेलाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरिसकेको छ ।

संसदको तेस्रो शक्तिको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड नयाँ समिकरणपछि मौन देखिन्छन् ।

मंगलबारदेखि उनी कुनै कार्यक्रममा बोलेका छैनन् । पदाधिकारी बैठकमा बोलेपछि सार्वजनिक कार्यक्रममा उनी बोलेका छैनन् ।

मंगलबार दिउँसोसम्म उनले राष्ट्रपति रामचन्द्र पौडेल,एमाले अध्यक्ष केपी शर्मा ओली सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरे ।

ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान नचलाउन चेतावनी दिएका थिए ।

मंगलबार प्रधानमन्त्री नियमित कामका लागि सिंहदरबार पनि पुगे ।

बुधबार समाचार तयार पार्दासम्म प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै छन् । उनी नियमित काममै व्यस्त छन् ।

मंगलबार साँझबाट प्रधानमन्त्रीले अन्य दलका कुनै पनि नेतालाई भेटेका छैनन् ।

सत्तारुढ दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले पनि उनले राजनीतिक सक्रियता नबढाएको माओवादी नेताहरु बताउँछन् ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आफुलाई सहयोग गर्ने दलहरुसँग छलफल गर्ने माओवादी एक नेताले बताए ।

प्रतिक्रिया