बालिका बलात्कार गर्ने १७ वर्षीय किशाेरलाई १२ वर्ष कैद


धादिङ- १४ वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले ०८१ असार १७ गते १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र सोही रकम पीडितलाई क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ ।

बालिकालाई ०८० चैत १ गते बलात्कार गरेको आरोपमा बालकलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियो ।

पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा चैत ७ गते गरिएको थियो ।

जिल्ला अदालतकाे ०८० चैत २८ गतेकाे आदेशले बालकलाई बालसुधार गृह भक्तपुरमा राखिएको थियो ।

प्रतिक्रिया