सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी


काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

आज (बुधबार) साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरे एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

उनले भने, ‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छौँ । साँझसम्म त्यसो हुन सकेन भने हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । बुधबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिएर सरकार ढाल्ने तयारी गरेको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिले र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।

प्रतिक्रिया