एआईजी पालसँग आईजी क्षेत्रीको ‘इगो’!


नेपाल प्रहरीका महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्री एकपछि अर्को विवादमा तानिएका छन्। प्रहरी संगठनलाई तहसनहस बनाउन खोजेको आरोप आईजी क्षेत्रीमाथि लागेको छ।

‘चेन अफ कमाण्ड’ मा चल्नुपर्ने संगठनलाई भत्काएर आईजी क्षेत्रीले एक हप्ताको बीचमा अचम्मकै तमासा देखाएका छन्। संगठन प्रमुख विदेश भ्रमणमा जाँदा बरिष्ठताको आधारमा सिनियरलाई कार्यवाहकको जिम्मेवारी दिने चलन छ।

गत २३ कात्तिकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाँदा रथी बालकृष्ण कार्कीलाई कार्यवहाक प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो। कार्की बरिष्ठताको आधारमा प्रधानसेनापति शर्मापछिका हुन्।

प्रहरीको नेतृत्वमा आएको सुरुतिरै आईजी क्षेत्रीले संगठनका हरेक निर्णय सामूहिक छलफलबाट गर्ने गरेका थिए। कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा ब्याचीहरुसँगै उनको सम्बन्ध बिग्रिएको देखिएको छ। आईजी क्षेत्रीले एकलौटी निर्णय लिन थालेका छन्।

आईजी क्षेत्रीले ‘इगो’ साँधेर प्रहरी संगठनमा ‘चेन अफ कमाण्ड’ नै भत्काएका चर्चा छ। आइतबार क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा २०७८ आयोजना गरेको इन्टरपोलको ८९औं महासभामा सहभागी हुन त्यसतर्फ जाँदा उनले कनिष्ठ अधिकृतलाई कार्यवाहकको जिम्मेवारी दिए।

त्यसपछि झनै आईजी क्षेत्रीमाथि अनेकन आरोप लागेको छ। हरि पाल एक नम्बरको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुँदाहुँदै दोस्रो बरियताका एआईजी निरजबहादुर शाहीलाई कार्यवाहकको जिम्मेवारी दिएपछि आईजी क्षेत्रीको आलोचना हुनु स्वभाविक पनि हो।

यसअघि आईजी क्षेत्री भारतको हैदरावादमा भारतीय प्रहरी सेवा तालिम (IPS Training) मा जाँदा पहिलो र दोस्रो बरियताका एआईजीलाई छाडेर तेस्रो बरियताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका थिए। त्यतिबेला पनि उनको आलोचना भएको थियो।

जतिबेला प्रहरी प्रधान कार्यालयमा कार्यरत मध्येमा वरिष्ठ एआईजी भन्दै कार्कीलाई कार्यवाहको जिम्मेवारी दिइएको बताइएको थियो। आईजी क्षेत्रीको सचिवालयका एक उच्च अधिकृतले प्रहरी प्रधान कार्यालयमा ‘जो सिनियर छ, उसैलाई निमित्तको जिम्मेवारी’ दिने चलन अनुसार कार्कीलाई जिम्मा दिइएको बताएका थिए।

प्रहरी सेवामा क्षेत्रीसँगै एकैदिन प्रवेश गरेका कार्की आईजी हुने गुण भएका अधिकृत भएपनि सत्यको बाबजुद एआईजी बढुवामा कार्कीभन्दा अगाडी बढुवा भएका पाललाई नदिएर कार्यवाहकको विषयलाई जानेर–नजानेर विवादित बनाइयो। त्यो विवाद आफैंमा आवश्यक छ–छैन संगठन प्रमुखलाई थाहा होला।

यो पनि पढ्नुहोस्…

प्रहरी प्रमुख ज्यू ! इतिहास बनाउने कि जागिर मात्रै पकाउने ?

किनकि प्रहरी प्रधान कार्यालयमा कार्यरत मध्येका वरिष्ठलाई कार्यवाहक दिने भन्ने एउटा सिद्धान्तले त्यहाँ काम गरेको थियो। तर भारत जाँदा अवलम्बन गरिएको त्यही सिद्धान्त बर्खिलाफ गर्दै भारतबाट आएको केहिदिनमै टर्की जाने बेलामा चाहिँ कार्यवाहकको जिम्मेवारी शाहीलाई दिएपछि चाहिँ प्रहरीभित्र साँच्चै नै केही विवाद छ भन्ने कुरामा शंका छैन।

कतै प्रहरी प्रमुख क्षेत्रीले नेपाल प्रहरीलाई राजनीतिक दल जस्तो गरेर चलाउन खोजेको हो कि भन्ने सोच्न बाध्य समेत बनाएको छ। अहिलेको कार्यवाहक दिलाई त राजनीतिक दलका नेताले आफ्नो विश्वासयोग्य मानिस खोजेर दिएको जस्तो देखियो। प्रहरी संगठन त एउटा थितिमा चल्नुपर्ने संगठन हैन र?

नत्र किन आफूसँगै प्रहरी प्रधान कार्यालयमा रहेका वरिष्ठ एआईजी कार्कीलाई टर्की लैजाने भएपछि आफ्नै पूर्वनिर्णयको आधारमा टेकेर प्रहरी प्रधान कार्यालयमा कार्यरत अर्का वरिष्ठ एआईजी विश्वराज पोखरेललाई किन कार्यवाहक नदिएर प्रहरी एकेडेमीमा कार्यरत शाहीलाई दिइएको त?

आइतबार विमानस्थलमा आईजी शैलेश थापा क्षेत्रीलाई विदाई गर्दै एआईजी निरज शाही।

यदी प्रहरीमा विद्यमान बरियता अनुसार कार्यवाहक नदिएकोमा विरोध भयो भनेर सच्याउन खोजेको भए बरियतामा आईजी क्षेत्रीपछिका पाललाई दिनुपथ्र्यो। त्यसो गरेको भए आफ्नो कुनै कसुर नभएको मुद्दामा आरोपित बनाएर पाललाई थुन्ने प्रपन्च रचिएको आरोप–आशंका पनि मिथ्या साबित हुन्थ्यो।

के साँच्चै नै एआईजी पालसँग ‘इगो’ साँधेरै संगठन चल्छ त? प्रहरी एकेडेमीमा दरबन्दी भएका शाहीलाई कार्यवाहक आईजीको जिम्मेवारी दिएपछि एआईजी पाल विदामा बसेका छन्। पाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका छन्।

(काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरुवा रोकेको भन्दै एआईजी पालसँग आईजी क्षेत्री असन्तुष्ट रहेको पाइएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट भएको सिंहको सरुवा पछि रोकिएको थियो। एआईजी पालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर रोक्न लगाएको आरोप आईजी क्षेत्रीको छ। त्यसपछि आईजी क्षेत्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर सिंहको सरुवा रोक्ने काम एआईजी पालले गरेको भन्दै एआईजी पालविरुद्ध एक्सनमा जानुपर्ने बताएका थिए। सोही अनुरुप २ नम्बर प्रदेश प्रहरी प्रमुख हुँदा भएको घटनालाई उचालेर एआईजी पाललाई फसाउने नियतका साथ षड्यन्त्र बुनिएको खबर छ। आईजी क्षेत्री भारत भ्रमण गएको बेला सो कुराले हंगामा ल्याएको थियो। जतिबेला कार्की निमित्त प्रहरी प्रमुख थिए। आफू जोगिन भारत भ्रमण गएको बेला आईजी क्षेत्रीले सर्लाही घटनालाई उठाउन लगाएको स्रोत बताउँछ। एसएसपी सिंहको सरुवा रोकेको कुरा सुनेपछि एआईजी पालसँग गृहमन्त्रीको समेत दुरी बढेको छ।)

न विगतकै निर्णय ठिक थियो भन्ने हिसाबले प्रधान कार्यालयमा कार्यरत वरिष्ठलाई कार्यवाहक दिइयो न प्रहरीको विद्यमान बरियताको आधारमा नै दिइयो। आईजी क्षेत्रीको कारण प्रहरी संगठन कमजोर बन्दै गएको अनुमान गर्न सकिन्छ।

आईजी केवल बरिष्ठताले मात्रै हुने होइन र हुनुहुँदैन। योग्यता, क्षमताको अलावा तत्काल कायम सरकारले पत्याएकाहरु नै आईजी हुँदै आएका छन्। हुँदै जानेछन् भन्ने सत्यसम्म त स्मरण गरेको भए राम्रै हुन्थ्यो। तर त्यस्तो केहि भएन, बरु कच्चा कामहरुलाई निरन्तर दिँदै गए।

‘चेन अफ कमाण्ड’मा चल्ने, एकअर्कालाई दर्जाअनुसार सम्मान गर्ने, प्रहरीको बर्दी लगाउञ्जेल आफू जस्तै बर्दी लगाउने अरु जोसुकैले पनि कर्तव्यपरायणतामा बराबरी इमान्दारिता अपनाउने विश्वास राख्ने सिद्धान्तमा चल्नुपर्ने नेपाल प्रहरीमा छोइछिटो गरेर कसलाई के पो फाइदा होला त?

०००
प्रहरी महानिरीक्षकमा एक जना अधिकृत नियुक्त हुने वित्तिकै निकटतम प्रतिष्पर्धीसँग सधैँ तिक्तता हुने गरेको छ। यसपटक आईजीपी क्षेत्री र पालबीच सुमधुर सम्बन्धी रहने विश्वास गरिएको थियो। तर हाल दुईबीचको तिक्तता सार्वजनिकरुपमै देखिन थालेको छ।

सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि दोस्रो वरीयतामा रहेका एआईजी पुष्कर कार्कीसँग कहिल्यै राम्रो सम्बन्ध भएन। जयबहादुर चन्दलाई सरकारले आईजीपीमा बढुवा गरेसँगै प्रतिष्पर्धी नवराज सिलवालले अदालतमा मुद्दा दायर गरे। त्यसपछि सरकारले तेस्रो बरीयताका अर्याललाई नेतृत्व सुम्पियो।

उपेन्द्रकान्त अर्यालका पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय नै टेकेनन्। उनले बाँकी कार्यकाल राष्ट्रिय सुरक्षा परिषद्मा बिताएका थिए। सम्बन्धमा खटपट आउँदा पनि सर्वेन्द्र खनाल र उपेन्द्रकान्त अर्यालले भने सिनियरलाई जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया