सनातन धर्ममा पारपाचुके र स्त्री स्वतन्त्रता


हाम्रा पौराणिक धर्मशास्त्रमा पनि देव-देवीहरु सँगै बस्ने बालबच्चा जन्मेपछि अर्कैसंग बिहे गरेका यथेष्ट उदाहरण र सन्दर्भ पाइन्छन्। पौराणिक कालदेखि हेर्दा देवगुरु बृहस्पति पत्नी तारा र चन्द्रमाको सम्बन्ध र त्यसपछि महाभारत कालमा नारी स्वतन्त्रताको दृष्टान्त हेरौं।

महाभारतमा उर्वशीले अर्जुनसंग प्रणय निवेदन गर्छिन् र अर्जुनले स्वीकार नगर्दा श्राप दिन्छिन् । कथाअनुसार ती अद्भुत कालखण्डमा कुनैपनि पुरुषसँग प्रणय निवेदन गर्न स्त्रीहरु स्वतन्त्र थिए भन्ने स्पष्ट हुन्छ । स्वयंवर प्रथा त्यही युगबाट चल्दैआएर हामीले उत्तरदानको रुपमा पाएको हो । महाभारतकालमा भीम र हिडीम्बाका पुत्र थिए घटोत्कच । यो जोडी छुट्टाभिन्न भएर बसेको कथा छ । यो कथा अहिलेको समयमा Living together को हुन्थ्यो कि पारपचुकेको ?

क्रमशः अरुपनि धेरै उदाहरणहरु धर्मशास्त्रमा जिवितै छन् । पछिल्ला युगमामा, बल, प्रभुत्व र सामाजिक पद्धति (Social System) को विकास हुने क्रममा धेरै सत्यहरूलाई लुकाइयो भने कतिपय सत्यहरुलाई बङ्गाई टीङ्गाई प्रस्तुत गरियो ।

सम्पूर्ण कालखण्डका प्रतिनिधि पात्र हामीले पुज्ने सवै आदर्श नारी पन्चकन्याहरुका बहुपति थिए । हाम्रो सनातनी धर्मले युग वा कालखण्ड अनुसार परिवर्तनशील सामाजिक संरचना र परिवेशको बारेमा उच्च सचेतना साथ सम्मान गरेको पाइन्छ। अर्थात् अहिलेको live in relation र Divorce पहिलेको समाजमा राम्ररी ब्याप्त थियो भने त्यति बेलाको समाज आजभन्दा पनि धेरै नै उदारवादी थियो।

पछिल्लो खण्डमा हामीले आफ्नो संस्कारलाई भुल्दै गयौं र एउटा धूर्त संरचना बनायौ । पछिल्लो सामाजिक संरचना विवेक र प्राकृतिक समानताको सिद्धान्तलाई मिचेर शारीरिक बलमिच्याईद्वारा निर्माण हुन पुग्यो ।

समाज बिभिन्न कालखण्डमा आवश्यकता र परिस्थितिले स्थापित सोचअनुसार परिवर्तित हुने गर्दछ । स्त्री र पुरुष समसंख्या भएमा एक पुरुष एक स्त्री र पुरुषको संख्या कम र स्त्रीको धेरै हुँदा बहुपत्नी प्रणाली र स्त्रीको संख्या कम र पुरुष संख्या धेरै हुँदा दौपदी समाज निर्माण हुनु स्वभाविक हो ।

देवी प्रतिभाले भन्नुछभएछ पारपाचुके (Divorce) को संस्कृतमा शब्द छैन । भगवान रामले सीतालाई त्यागेका हुन कि पारपाचुके गरिएको हो ? पारपाचुके भइसकेको पतिसंग फेरि सम्बन्ध जोड्न नचाहेर माता सीता धर्तीमा ब्रम्हलिन भएकी हुन् कि जन्मेदेखिको निरन्तर अत्याचार सहन नसकेर आत्महत्या गरेकी हुन् ?

छोरी जन्म भएकोले नै सीताजीलाई बावुआमाले त्यागेका हुन् वा आफ्नै सहोदर आफन्तको कुदृष्टिबाट जोगाउन आमाले नै छोरीलाई बक्सामा हालेर मिथिला राज्यमा आदर्शवादी राजा जनकको शरणमा छोडिन् ?

कता कता लाग्छ ऋषिवर वाल्मीकिले लेख्नै नसकेर सीताको उत्पति र अन्त अलि मिलाएर लेखे कि कालान्तरमा यो कथालाई बङ्ग्याएर प्रस्तुत गरियो ?

भारतवर्ष धेरै समय अचेत रह्यो भने तत्पश्चात मुसलमान र इसाईहरुको प्रभुत्वमा यति नराम्ररी जकडियो कि हाम्रा लिपि, पाण्डुलिपिहरु सवै खोसियो या नाश भए । आज, हामी पूस्ता दरपुस्ता सुनेका कथाहरु टुक्रा टुक्रा जोडेर लिपिबद्ध गर्ने प्रयासमा छौ।

यद्यपि, धेरै मुण्ड मुण्डमा शेष बचेका सुने-सुनाइएका स्मृतिमा रहेका अलिअलि सत्यहरु जोड्दा सम्पूर्णता हासिल गर्न सकिँदैन।
त्यसकारण, पुराण, महाभारत, रामायण लगायत सम्पूर्ण विधिशास्त्र, खगोलशास्त्र, जैविक विज्ञान, समाजशास्त्र, अर्थशास्त्रलाई हामी सम्पूर्ण बिज्ञानको रुपमा हाम्रा पाठशालामा अध्यापन अनुसन्धान गराउन सक्दैनौं ।

त्यसमा दुईचार पण्डितहरुले सोझा साझा जनता झुक्याउँदा सम्पूर्ण गौरवशाली सनातन धर्मलाई खल्बलाइ दिन्छन् । मुसलमान र इसाईहरुले थिचिएको भारतवर्षमा आज हामीले बोल्ने पचास प्रतिशत भन्दा धेरै शब्दहरु फारसी या अरबीबाट आयातित छन्।

देवी प्रतिभाले भन्नुभए जस्तो हाम्रो यत्रो परिष्कृत समाजमा श्रीमान् श्रीमतीबीच सम्वन्ध सौहार्दपूर्ण रह्यो र कहिल्यै सम्बन्ध बिच्छेदको अवस्था आएन भन्न कदापि मिल्दैन ! हाम्रो सनातनी संस्कारले मानव जीवनको यति ठूलो आयामलाई वेवास्ता गरेजस्तो मलाई लाग्दैन । श्रीमान श्रीमतीबीच बेमेलको अन्त्य हत्या र आत्महत्या मात्र त पक्कै नहुन सक्छ। संस्कृतमा पारपाचुके भन्ने शब्द पक्कै छ। मिथ्या र भ्रमबाट माथि उठ्न जरुरी छ।

भगवान बिष्णुले मानव सभ्यता र समाज निर्माणको लागि मानव रुपमा गर्नुभएको संन्धर्ष र कष्टहरुलाई दैवत्यकरण किन गर्ने ? किन मानव दृष्टिले नहेर्नै ?

प्रतिक्रिया