पशुपति कोटीहोमः महायज्ञ कि दान ‘उठाउने’ थलो ?
पशुपति परिसरमा एक महिने लामो कोटिहोम महायज्ञ चलिरहेको छ । साउन महिनाको प्रारम्भसँगै सुरु भएको उक्त महायज्ञ यस महिनाभरी चल्नेछ । कोटिहोममा प्रसिद्ध भागवत कथा वाचक, वाचीका र थुप्रै धार्मिक गुरुहरुको उपस्थिति रहेको छ भने दैनिक हजारौँ भक्तजनहरुको पनि भिड लाग्ने गरेको छ ।
उसो त साउन महिना हिन्दु धर्मावलम्विहरुको लागि बिशेष महिना मानिन्छ । यस महिनामा सर्वहाराहरु पनि शुद्ध शाकाहारी हुने र खोजीखोजी मठमन्दिरतिर देखिने गर्छन् । जसको उपज साउनमा मठमन्दिरमा भिडभाड देखिनु त्यत्ति नौलो कुरा भने पक्कै होइन । तर पशुपति परिसरमा चलिरहेको कोटिहोममा भक्तजनहरुको भगवानप्रतिको यो आस्था देख्दा सबैमा भक्तिभाव कहिँकतै अझै बढेको महशुस भने अवश्य हुन्छ । यस धार्मिक मेलाले आम जनमानशलाई धर्मको एक शुत्रमा बाँधेर प्रेम र सद्भाव बढाउन उत्प्रेरित गरिरहेको देख्न सकिन्छ । जसलाई यस कोटिहोमको मुख्य सकारात्मक पाटोको रुपमा लिन सकिन्छ । तर कोटिहोममा पुगेर फर्किने अधिकांश भक्तहरुको तर्क सुन्दा यस मेलाले उनीहरुको मनमा शान्ती र सद्भाव भन्दा पनि अनेकन तुष थपिदिएको भान हुन्छ ।
कोटीहोम महायज्ञ निस्वार्थ सेवाको भाव राखेर भगवान भक्तिका लागि लगाइनुपर्ने भएता पनि हालसम्मको इतिहासले यस्ता महायज्ञहरु कुनै न कुनै सामाजिक क्षेत्र उत्थानको ट्याग भिराएर मात्र सञ्चालन गरिएको पाइएको छ । यसलाई भक्तिभाव कम ब्यापारीक ज्यादा भन्दा अतिशयोक्ति नहोला । त्यसो त एउटा महायज्ञ नै लगाउन सानोतिनो खर्चले धान्ने कुरा होइन । त्यसमाथि नाम चलेका अन्तराष्ट्रिय कथावाचकहरु, उनीहरुको सुरक्षा र आलिशान बसाँईलाई सानो दिमागले त सोच्न पनि सकिन्न । यसर्थ महायज्ञलाई व्यापारिक बनाउन भने कतै कथाले नै मागेजस्तो पनि देखिन्छ ।
अहिले धर्मगुरु कहलिएकाहरु धर्मको नाममा चन्दा र भेटी संकलन गरेर सामाजिक कार्यमा कायापलट गर्न खोज्नेको तँछाड मछाड हुने गरेको छ । सामाजिक प्राणी भएपछि सामाजिक क्षेत्रमा सरिक हुनु नेपालजस्तो मुलुकका लागि अपरिहार्य नै हो । तर धर्मको खोल ओढेर ‘इमोश्नल ब्ल्याकमेलिङ’ गरे जसरी दान उठाएर ठेकेदार बन्न खोज्नु जायज पक्कै होइन । एउटा धर्मगुरु भएपछि आफ्नो धर्मको उत्थान गर्ने हो की ठेकेदार बन्ने ? यो कार्य त ऐन र कानुनसम्मत चुनिएका पदाधिकारीहरुको हैन र ? भलै हामीले उनीहरुलाई रमिते नै रहन दियौँ होला तर अब आवाज उठाउन जरुरी छ ।
यता पशुपति परिसरमा भइरहेको महायज्ञ पनि उस्तै खर्चिलो देखिन्छ । एकातिर निकै सजिसजावट र तामझाम देखिन्छ भने अर्कोतिर ठूला नाम चलेका पुरोहित र वाचकहरु अनि उनिहरुको जम्बो टोली देखिन्छन् । महायज्ञमा दिनबन्धु पोखरेलदेखी पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित राधिका दासी र अन्तराष्ट्रिय वाचिका देवी प्रतिभालाई आमन्त्रित गरिएको छ । साथै थुप्रै धर्मगुरुहरु र कलाकारहरुलाई पनि महायज्ञमा देख्न सकिन्छ ।
अहिले अन्तराष्ट्रिय वाचिका देवी प्रतिभालाई लिएर भने सामाजिक सञ्जालमा निकै खैलाबैला चलिरहेको छ । कोही उनीसँगै विदेशबाट भित्रिएका सुरक्षाकर्मीसहितको जम्बो टोलीलाई आलोचना गरिरहेका छन् भने कोही उनको पारिश्रमिक र प्रवचन अनुसारको उनको रहनसहन नभएको कुरालाई लिएर आलोचना गरिरहेका छन् । अर्कोतर्फ सानै उमेरमा उनको यो प्रगतिलाई लिएर धेरैले प्रशंसा पनि गरिरहेका छन् । जसले जे–जे भनेपनि देशलाई अन्तराष्ट्रियस्तरमा सर्वत्र परिचित गराउन योगदान पुर्याइरहेकी उनी धन्यवादको पात्र भने पक्कै हुन् । काभ्रे मण्डनदेउपुर घर भएकी देवी प्रतिभाको पुरा नाम देवी पराजुली हो । उनी बाह्र–तेह्र वर्षको उमेरमा नै परिवारको सहयोगमा भारतको वृन्दावन पुगेकी थिइन् । त्यसपछि वृन्दावनमै उनले संस्कृत बिद्यालयमा शैक्षिक यात्रा सुरु गरेकी थिइन् । उनले हाल आचार्यसम्मको अध्ययन पुरा गरेकी छिन् ।
आफ्नै जन्मभूमि, त्यसमाथि पवित्र धार्मिक परिसरमा भइरहेको पवित्र धार्मिक मेलामा पाल्दा वाचकहरुले त्यतिविधि तामझाम नगरी त्यसबापतको खर्चलाई सकेसम्म खुम्चाउन सहयोग गरिदिएको भए कोटिहोम साँच्चैको कोटिहोम बन्न प्रेरणा मिल्ने कुरा भक्तजनहरु बताउँछन् ।
‘म एकदमै सरल छु, जो कोहीले मलाई भेट्न सक्छन्’ पनि भन्ने अनि वरिपरी दर्जनौँ सुरक्षाकर्मीको ताँती लगाउँदा खासै शोभनिय देखिएन कि प्रतिभा जी ? फेरी यहाँ कुरा पैसाको मात्र नभएर देश र देशबासीप्रतिको विश्वासको पनि त रहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा गाडीबाट ओर्लिएर जनतामाझ गएको गौशाला चोकमा तपाईंको सवारीको तामझामलाई आम जनताले कसरी हेर्लान् ? प्रदर्शनकै कुरा हो भने यहाँको प्रगति प्रशंसायोग्य छ, त्यसमा दुइमत छैन । तर शान्ति र सरलताको खोल ओढेर आफ्नै देश र परिवारसँग यत्तिविधि डराउनुपर्ने विशेष कारण केही होला र ? यसरी एउटा सरल लोकप्रिय व्यक्तिले आफ्नै देशप्रतिको यो किसिमको विश्वासलाई लिएर अन्तराष्ट्रियस्तरमा राम्रो सन्देश नजाला कि भन्ने आम मानिसहरुको बुझाई रहेको छ ।
यसैगरी पशुपति कोटिहोम आयोजकको कारणले पनि निकै विवादमा आइरहेको छ । शास्त्र अनुसार कोटीहोम महायज्ञ उत्तरायणमा गर्नु उत्तम भनिएको छ । जुन समय विशेषत माघे संक्रान्तिबाट सुरु हुन्छ । विगतमा लगाइएका प्राय कोटीहोमहरु भने उत्तरायणमा नै लगाउँदै आइएको छ । तर, पशुपति परिसरमा भइरहेको कोटीहोम भने दक्षिणायनमा लगाइएको छ । पञ्चाङ्ग समितिले पनि यसका लागि आयोजकले कुनै सल्लाह र अनुमति नलिएको बताउँछ । त्यसका साथै पुरातात्विक महत्वको स्थानमा होम गर्नकै लागि ठूलो खाडल खनिनुलाई पनि कतिपयले सांस्कृतिक महत्वको स्थानको संरक्षण र सम्बद्र्धनमा आयोजकले आँच पुर्याएको देखिएको छ ।
समितिले महायज्ञका लागि सोधपुछ गरेपछि साइतसम्म चैँ जुराइदिएको स्विकार गरेको छ । पञ्चाङ्ग समितिका अनुसार असार २८ गतेका लागि साइत जुरेकोमा आयोजकले साउन १ गतेबाट महायज्ञ सुरु गरेको हो । यसो गर्नुमा आयोजकले पहिल्यै गरेको प्रचार प्रसारलाई मध्यनजर गरी स्वःनिर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ । आयोजकले महिनौँ अगाडिदेखि नै नेपालका प्रायः सञ्चारमाध्यमहरुलाई सम्पर्क गरी कोटिहोमको प्रचार प्रसारका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए ।
पछिल्लो समय चितवनको नारायणी किनारमा गरिएको महायज्ञ पनि माघ महिनामा सुरु गरेर फागुनमा समापन गरिएको थियो । २०७६ सालमा चितवनको देवघाटमा लगाइएको कोटीहोम पनि माघ महिनामै सुरु गरिएको थियो भने यसका आयोजक पनि पशुपति कोटिहोमकै आयोजकसँग जोडिएका छन् । त्यो कोटीहोम विभिन्न कारणले विवादमा तानिएको थियो । र अन्त्यमा आयोजक कोटीहोम स्थलबाटै भाग्नु परेको भन्ने हल्ला पनि सुनिन्छ ।
भण्डारीका विवाद यतिमात्र होइन्, उनी अदालतबाट नै दोषी ठहर गरेपछि पटकपटक जेल बसेका उनी आफूले आफूलाई भने ठूलै धर्मगुरु र चोखो सामाजिक अभियन्ताको रुपमा चिनाउँछन् । उनलाई विदेश पठाइदिन्छु भनि ठगेको पनि आरोप लागेको छ । विगतमा दानहरु संकलन गरेर त्यसको उचित प्रयोग नगरेको भन्ने पनि आरोप छ ।
मानवसेवा आश्रमको भवन निर्माणका लागि रकम संकलनार्थ भन्दै आयोजना गरिएको यस कोटिहोमका मुख्य संकल्पकर्ता विष्णु भण्डारी उर्फ बिष्णु प्रपन्नाचार्य हुन् । ३३ वर्षीय प्रपन्नाचार्य विशेषतः स्वघोषित वालयोगेश्वर विजय कृष्णमूर्ती महाराजको नामले चिनिन्छन् । उनी आफू बिगत १७ वर्षदेखि धर्मको माध्ययमबाट विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताउँछन् । ठाउँ–ठाउँमा कोटिहोम लगाउँदै दानदक्षिणा बटुल्ने र त्यसलाई आफ्नो अनुरुप सामाजिक क्षेत्रमा खर्च गर्न उनी बढी इच्छुक देखिन्छन् ।
अचम्मको कुरा त के छ भने पशुपति कोटिहोम मन्दिर परिसरमा लगाइएपनि त्यसको हर्ताकर्ता भने विष्णु भण्डारी हुन् । त्यसमा पशुपति विकास कोषको कुनै संलग्नता र उत्तरदायित्व नै देखिएको छैन । धर्मगुरु भएपछि धार्मिक मेलाहरु आयोजना गर्न उत्सुक हुनु र आफ्नो धर्मको प्रचार गर्न खोज्नु उनको उत्तरदायित्व हुन जाला तर पटकपटक कोटिहोम नै लगाउँछु, म नै लगाउँछु, र त्यसबाट मैले नै समाज सेवा गर्छु भन्नुमा शंकाको बिषय नबन्ला भन्न सकिन्न । भण्डारीले झण्डै पाँच वर्ष अगाडि चितवनमा कोटिहोम महायज्ञ लगाउँदा त त्यसको प्रचार नै ‘कोटिहोम दान महायज्ञ’ भनेर गरेका थिए । यसबाट उनको दानप्रतिको लगाव कस्तो छ भनेर स्पष्ट हुन जान्छ ।
दानका लागि उनी कस्तो तयारी गर्ने, कस्ता वाचक ल्याउने र कसरी भक्तजनहरुलाई बहकाउने भनेर माहिर छन् । पशुपति कोटिहोममा पनि चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय वाचकहरु र कलाकारहरु ल्याउने र गाना बजाना गर्ने क्रम एकपछि अर्को चलिरहेको छ । यसमा भक्तजनहरुको भागवत कथा र ज्ञान भन्दा नाचगान र तामझाम बढी भएको गुनासो पनि बढीरहेको छ ।
चर्चित जस्तोसुकै गीतहरुको लयमा भगवानको नाम जोडिदिएर भजन बनाइएको भन्दै भक्तजनहरु रुष्ट भएका छन् । वाचक वाचिकाले कथा भन्दाभन्दै बिचमै माइक थुतेर दान गर्नेको भजन र खादामाला गर्नुभन्दा एकातिर कथाको लय नबिगारिदिएर सम्मानलाई पछि देखाउन मिल्ने पनि धेरैको बुझाइ रहेको छ । भेटी धेरै झर्नासाथ आत्तिएर देखाइहाल्नुपर्ने, फुकिहाल्नुपर्ने स्वच्छ दान र सेवाको बिषयमा त्यत्तिविधि आकस्मिकताको जरुरी देखिँदैन । यो त अरुलाई दान गर्नको लागि उक्साएको जस्तो भएन र ?
भक्तजनहरुले, नेपालमा वाचिकाको रुपमा नयाँ अनुहार देवी प्रतिभालाई भने तुलनात्मक रुपमा बढी रुचाएका छन् । उनको भजनमा झुमेर भक्तहरुले बढी दान झारिरहेको चाल पाएर होला आयोजक भण्डारीले उनलाई थप दुईदिन कथा वाचन गर्न लगाएका छन् । उद्घोषकले नै दान गरौँ भन्ने, कलाकारलाई पनि भन्न लगाउने अझ भएन भनेर आयोजकले दान गर्न चुले निम्तो नै दिने यो कहाँको धार्मिक आस्था हो ? यहि हो त कोटिहोमको उद्देश्य ? यहि हो त कोटिहोमको मूल मर्म ?
भण्डारीका विवाद यतिमात्र होइन्, उनी अदालतबाट नै दोषी ठहर गरेपछि पटकपटक जेल बसेका उनी आफूले आफूलाई भने ठूलै धर्मगुरु र चोखो सामाजिक अभियन्ताको रुपमा चिनाउँछन् । उनलाई विदेश पठाइदिन्छु भनि ठगेको पनि आरोप लागेको छ । विगतमा दानहरु संकलन गरेर त्यसको उचित प्रयोग नगरेको भन्ने पनि आरोप छ ।
भण्डारी जी ! विगतका दिनमा जस्तो नाफा घाटा नभनि आफूले सोचेको सामाजिक सेवामा पशुपति सम्झेर दृढताका साथ लाग्नुहोला । धर्मको प्रचार र उत्थान गर्नुहोला, व्यापार नगर्नुहोला । धर्म उत्थानको हकदार बन्नुहोला तर ठेकेदार नबन्नुहोला ।