

‘मर्निङ वाक’ र ‘भतेर’मा रमेको माओवादी र ‘हजारको पान’ !

पछिल्लो दिनमा बिहान–बिहान माओवादी नेताहरुको मर्निङ वाकले सामाजिक सञ्जालका भित्ता रंगीएको हुन्छ । लाग्छ माओवादी हेडक्वार्टरदेखि तल्ला तहका कार्यकर्ताहरु मर्निङ वाकबाटै देश बनाउन कुँदिरहेका छन् ।
फागुन १२ मा नेपालको पूर्वी सीमा झापाको कचनाकवलबाट सुरु भएको नेकपा माओवादी केन्द्रको तराई–मधेश जागरण अभियानको आज ७ दिन भएको छ । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमाण्ड गरिरहेका छन् भने उनीपछिका नेताहरु पनि सँगै रहेका छन् ।
अभियानका आजका दिनसम्मका सामाजिक सञ्जालका अपडेट हेर्दा ‘मर्निङ वाक’ र केराको पातमा ‘भतेर’ खाने प्रमुख कार्य जस्तो देखिएको छ ।
पुस २३ मा सम्पन्न केन्द्रीय समितिको बैठकले हुलाकी मार्ग केन्द्रीय अभियान सञ्चालन गर्ने निर्णयगरेसँगै चैत ७ गते कञ्चनपुर पुगेर अभियानको समापन गर्ने योजनासहित कचनाकवलबाट अभियान सुरु भएको थियो । तर, अभियानको सातौं दिन मधेश प्रदेशमा नेताहरु पुगिरहँदा अभियानको कार्यतालिकामा हेरफेर भएको छ । अपडेटेड् कार्यतालिकाअनुसार चैत १२ गते कञ्चनपुर पुगेर अभियानको समापन हुने जनाइएको छ ।
अभियानको मुख्य उद्देश्य राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, माओवादीलाई जनतासँग जीवन्त रुपमा जोड्ने र संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने रहेको छ, त्यसबाहेक जनता र पार्टी नेतृत्वबीच देखिएको खाडललाई पुर्ने हिसाबलाई सम्बन्ध बिस्तारका लागि पनि मुख्य एजेन्डा बनाइएको छ । अन्य जे विषयलाई माओवादीले अभियान एजेन्डा बनाए पनि २०८४ निर्वाचनमा आप्mनो हैसियतको आंकलन गर्नु प्रमुख योजना रहेको राजनीतिककर्मीहरुलाई अड्कल काट्न गाह्रो भने देखिँदैन ।
यसअघिका निर्वाचनहरुमा विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादीले ०८४ सालमा एक्लै चुनाव लड्ने घोषणा गरेका प्रचण्डले आप्mनो ‘नाडी’ आँफैं छाम्न लागेका हुनसक्छन् । अभियानको सुरुमै पार्टी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको ‘उग्ररुपता’ देखिँदा पार्टीभित्र अनुसन्तुष्टीका पोकाहरु खुल्न लागेको आंकलन आम कार्यकर्ताले गर्न लागेका छन् । तर, पार्टीका कार्यकर्ता र नेताहरुबाट काजीको शैलीप्रति आलोचना गरेपछि पुनः अभियानमा सामेल भएका छन् ।
आम जनताको मनमा अन्य दलप्रति रहेको वितृष्णालाई आफूले ‘क्याच’ गरे हुने थियो, सत्तामा रहेका दलहरुले जनताका लागि गरेका अहितका कुराहरुलाई छर्र्लङ्याइदिने हुने थियो, स्टण्डबाजीमात्रै देश बन्दै भने जनतालाई बुझाइदिए हुने थियो, अनि सबैभन्दा बढी ०८४ सालमा एक्लै चुनाव लड्ने आत्मविश्वास जगाइदिए हुने थियो ।
पछिल्लो कार्यतालिकाअनुसार १ महिने अभियानको पहिलो २५ प्रतिशत अभियानको हालसम्मको कार्यक्रम हेर्दा सत्तारुढ दलविरुद्ध खनिनु नै माओवादीको प्रमुख एजेन्डा जस्तो देखिएको छ, त्यो बाहेक स्थानीयको घरमा गएर ठूलोसंख्याका नेता तथा कार्यकर्ता गएर एक किसिमको ‘भतेर’ नै लगाएका छन् । त्यसबाहेक प्रत्येक दिन ‘मर्निङ वाक’ को भिडियोसमेत सामाजिक सञ्जालमा राखिनुले आम जनताले दिउँसोको खाना जोहोका लागि गर्नुपर्ने बिहान गर्नुपर्ने दायित्वलाई भुल्ने त होइनन् भन्ने पनि देखिन थालेको छ ।
अझै त्यसैमाथि कहिलेकाहिँ अभियानको कमाण्ड गरिरहेका अध्यक्ष प्रचण्डले ‘एउटा पानको एक हजार’ दिएर स्टण्डबाजीको प्रयास गरेका छन् । मधेशका जिल्लाहरुमा अभियान चलाइरहँदा एउटा पान व्यापारीको पानको पैसा एक हजार तिरेका प्रचण्डले उनका कार्यकर्ताले सोही पसलमा खाएको पानको पैसा तिरे कि तिरेनन् त्यो हेर्न सके कि सकेनन्, त्यो केबल क्यामेरापछिमात्र थाहा भयो होला ।
ती पान व्यवसायीले पानको पैसा लिन नकारिरहेको अवस्थामा प्रचण्डले सबै राख्नु भन्दै एउटा पानको बदला एउटा हात्ति थमाइरहेका थिए । र, त्यो कैद भइरहेको थियो दशौं क्यामेरामा ।
हुन त पछिल्लो समय ‘स्टण्डबाजी’बाटै ६ महिनामै सत्ताको नेतृत्वतहमा पुगेको उदाहरण देखेका प्रचण्डले स्टण्ड नै त गरेका होइनन् होला, किन कि उनी १२ वर्षसम्मको सशस्त्र द्वन्द्वबाट बाहिर निस्किएर सत्ताको नेतृत्वमा पुगिरहेका थिए ।
आजसम्म त एक सातामात्रै बितेको छ अभियानको हेरौं बाँकी दिनमा अझै के–के देख्न पाइन्छ? माओवादी नेतृत्वले मर्निङ वाक, भतेरबाहेक आम जनताको प्रत्यक्ष सरोकारका पक्षमा आवाज उठाइदिए हुने थियो । आम जनताको मनमा अन्य दलप्रति रहेको वितृष्णालाई आफूले ‘क्याच’ गरे हुने थियो, सत्तामा रहेका दलहरुले जनताका लागि गरेका अहितका कुराहरुलाई छर्र्लङ्याइदिने हुने थियो, स्टण्डबाजीमात्रै देश बन्दै भने जनतालाई बुझाइदिए हुने थियो, अनि सबैभन्दा बढी ०८४ सालमा एक्लै चुनाव लड्ने आत्मविश्वास जगाइदिए हुने थियो । माओवादीको एक महिने अभियानका लागि शुभकामना !

