नारायणीका बगरमा लाशका ‘बिस्कुन’ !
असार २८ गते शुक्रबार बिहानै । मुग्लिन–नारायणगढ खण्डको सिमलतालमा एक भयानक घटना घट्यो । लगातारको वर्षापछि आएको बाढीले काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं यात्रुसहित आउँदै गरेका दुई बसलाई त्रिशुलीमा हुत्याईदियो ।
दुई बसमा गरेर ६५ जना यात्रु रहेकोमा ३ जनालाई दैवले बचायो अर्थात् उनीहरुको भाग्य बलियो रहेछ । बाँकी ६२ जनाले आप्mनो बाटो रोजे, त्यो पनि पहिरोकै कारण । उनीहरु चढेको गणपति र एन्जल डिलक्स अहिलेसम्म त्रिशुलीकै गर्भमा हराइरहेका छन् ।
घटना घटेको पाँचौं दिन भइसक्यो, अहिलेसम्म बस भेटिन सकेको छैन । हालसम्म बसको पर्दाबाहेक अरु केही भेटिएको छैन भने बसका यात्रुहरु भने नारायणीको बगरमा भेटाइन थालेका छन्, जुन क्षतविक्षत अवस्थामा नारायणीका बालुवाजस्तै ढाडिएका भेटिइरहेका छन् । अहिलेसम्म गण्डक ब्यारेजसम्म शवहरु पुगिसकेका छन् । त्यहाँबाट कति शव ‘उता’ पुगे ? कति अझै पनि नारायणीकै बालुवामुनि पुरिएका छन् त्यसको कुनै अनुमान छैन ।
दैनिक सयौंको संख्यामा सुरक्षाकर्मीहरु खटिइरहेका छन् । पछिल्लोपटक विपत् व्यवस्थापनकै लागि अग्रणी भूमिका खेल्दै आएको सशस्त्र प्रहरीका ३ सय भन्दा बढी सुरक्षाकर्मीहरु नारायणीको भेलसँग पौंठेजोरी खेल्दै खोजी गरिरहेका छन् । दिनदिनै जसो स्थानीय र सुरक्षाकर्मीले नारायणीमा ढाडिएका लास भेटिएको खबर दिइरहेका छन् ।
भेलसँग जुधेर आम जनताको ‘सास’ वा ‘लास’ खोजी रहेका सुरक्षाकर्मी आफैं असुरक्षित देखिएका छन् । सुरक्षाकर्मीहरुले प्रयोग गरिरहेको बोटमा हावा खुस्किरहेका छन् । त्यसतर्फ पनि ध्यान दिनुपर्ने देखिएको छ ।
त्रिशुलीमा खसेको दिनदेखि नै सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन भए पनि अहिलेसम्म बस नभेटिनु त्रिशुलीको ‘ताण्डव’ मान्न सकिन्छ । असोजको महिनामा पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी नभेटिएको त्रिशुलीमा अहिले मध्य वर्खामा भेट्न त्यति सहज देखिएन । छैन र आजका दिनसम्म भेटिएन नै ।
नारायणी त्यहीमाथि वर्खाको । सामान्य अवस्थामा देख्दा नै कहाली लाग्दो देखिन्छ तर अझै अहिलेको मौसम । त्रिशुलीमात्रैको पानी त महासागर जस्तै लाग्ने अवस्थामा कालीगण्डकीको भेल मिसिएपछि पक्का महासागर नै बनेको अवस्था छ । विस्तारै वर्षा घट्ने क्रम भएमा दुई बस अनि त्रिशुलीले निलेका ती यात्रुहरुका शव भेटिन्थे होला ।
भेलसँग जुधेर आम जनताको ‘सास’ वा ‘लास’ खोजी रहेका सुरक्षाकर्मी आफैं असुरक्षित देखिएका छन् । सुरक्षाकर्मीहरुले प्रयोग गरिरहेको बोटमा हावा खुस्किरहेका छन् । त्यसतर्फ पनि ध्यान दिनुपर्ने देखिएको छ ।
सुखद् भविष्यको खोजीमा राजधानी हिँडेका देखि लिएर लामो जीवनका लागि उपचारको खोजीमा लाखौं ऋणको रकमसहित राजधानी हिँडेका सम्मले निमेषभरमै अकल्पनीय घटना भोग्नुपर्ने कम्ती दर्दनाक होइन । परिवारजन अहिले नारायणीका बगर–बगर र भेलबाट फर्किएका सुरक्षाकर्मीहरुको बोली सुन्न आतुर छन्, कहिँ कतै उनीहरुको आफन्तको खबर आयो कि भनेर । तर, ती सबै प्रतिक्षामै छन् ।
अहिलेको पछिल्लो अपडेटसम्म १५ जनाको शव भेटिइसकेको छ, ती मध्ये ९ जना सोही बसमा यात्रा गरेका यात्रु रहेको पुष्टी भई सनाखत भइसकेको छ भने बाँकी ६ जना पनि त्यही बसका यात्रु भन्ने निर्क्योल गरिएको छ । तर, सनाखत नहुँदासम्म वर्षाको नदीले बसका यात्रुबाहेक अन्य पनि बगाएर ल्याएको नहोला भन्न सकिने अवस्था छैन । कालीगण्डकी, त्रिशुली, मस्र्याङ्दी, मादी, बुढीगण्डकी, सेती, दरौंदीलगायतका नदी मिलेर बनेको नारायणीमा अन्य ठाउँबाट पनि शव आउनसक्छन् । भेटिएका ती शवहरु प्रशासनमा आफन्तको प्रतिक्षामा राखिएका छन् । बसमा रहेका यात्रुका आफन्त करिब–करिब चितवन आइसकेका छन् । सास ‘गुमाइसकेका’ आफन्तको लाश पाइने अभिलाषामा ।
त्यसैले भेटिएका सबै शव सनाखत हुन्छ, अहिलेको अवस्थासम्म । तर, दिन बित्दै जाँदा बर्षाको बाढीमा परेका लाश थिल्थिलिएर कंकालमा परिणत हुन समय धेरै लाग्दैन । त्यसैले सुरक्षाकर्मीहरु खटिइरहेका छन्, सास खोजेका आफन्तहरुलाई लाश नै भएपनि जिम्मा लगाउन, अनि आफन्तहरु पनि आशामा छन्, सास नभेटिए पनि लाश त भेटियोस् भन्दै ।
हरेक वर्षको त्रिशुली कैयौं मानिसहरुको अन्तिम क्षणको साक्षी र कारक बनिरहेको अवस्थामा अब यस्ता घटना नघटुन्, अनि पचासौं परिवारको जीवन बोकेर हिँडेका चालक दाजुभाईहरुले यात्रुहरुको सुरक्षालाई पहिलो प्राथमिकता दिउन् । अनि प्रशासनले पनि आफ्ना नागरिकलाई कसरी सुरक्षितसँग गन्तव्यमा पुर्याउन सकिन्छ भनेर योजना बनाउन ढिलो भइसकेको छ । त्यसका लागि दीर्घकालीन समाधानका लागि वैकल्पिक उपायहरु अपनाउनु पर्ने देखिएको छ ।
हामीले यस्तै पीडाका घटना धेरै भोगेका छौं । हरेक यात्रुले सो बाटोबाट हिँड्दा भगवान् पुकार्नुबाहेक अर्को उपाय देखिएको छैन । मुग्लिनबाट हिँडेका यात्रुले नारायणगढ र नारायणगढबाट हिँडेका यात्रुले मुग्लिन पुगेपछि ठूलो सास फेर्नु पर्ने अवस्था आइरहेको छ ।