हलो जोत्नुः रउस, रोमाञ्च र जिम्मेवारी
२००६ साल साउन ११ गते लमजुङ दुरडाँडास्थित अर्चल्यानी भन्ने ठाउँमा पण्डित तोयनाथ अधिकारीले दुई सियो जोतेर ब्राहमणले हलो जोत्ने कार्य प्रारम्भ गरेका रहेछन् । त्यस दिन हलगोरु र हलो स्थानीय हरिलाल पौडेलको लिएर मायानाथ पौडेलले पण्डित तोयनाथ अधिकारीको दुरडाँडाको बाटुले गह्रोमा पूर्वतिर फर्काएर हल गोरु नारेका रहेछन् । तोयनाथ आफूले दुई सियो लगाएर ‘ल अव फुक्यो’ भनेर छाडी दिएका रहेछन् र त्यसपछि शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेललगायतका २७ जना ब्राह्मणले सामूहिक रूपमा हलो जोतेछन् । त्यस दिन लमजुङका कुन्छा, परेवाडाँडा, कोइरालाफाँट र तनहुँका रतनपुर, रूपाकोट, तार्कुघाट, मानेचौकालगायतका ठाउँका मानिसहरू यो अभियानमा सहभागी हुन दुरडाँडा पुगेका रहेछन् । त्यतिबेला हलो जोत्ने ब्राह्मणलाई हलो नजोत्ने ब्राह्मणहरूले उल्याएर यस्तो गीत नै बनाएका रहेछन्—
शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे
तोयनाथ पण्डित हलो जोती बिग्रे ।
तोयानाथ अधिकारी लगायतको यस पहलकदमीपछि ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने सामाजिक मान्यता भंग हुँदैआएछ ।
हलो जोत्ने यो अभियान म हुर्किदासम्ममा सिन्धुली जिल्लाको तीनपाटनसम्म बिस्तार भइसकेको रहेछ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीभन्दा झन्डै चौध किलोमिटर पूर्व अवस्थित फाँट हो— तीनपाटन । (तीनपाटन अब गाउँपालिकाको नाम भएको छ ।) यस फाँटलाई चिरेर पूर्वबाट पश्चिमतर्फ बग्छ— चदाहा खोला । बुढापाका सम्झिन्छन्— २०२३ सालमा यस खोलामा आएको बाढीले यस फाँटमा खेतभन्दा धेरै बढी बगर बनाइदियो ।’ कालान्तरमा काँस फुल्ने चदाहा खोलाका बगरहरू पनि खेतमा परिणत हुँदैआए र पछिल्लो समय त यी बगर उर्बर खेतका रूपमा देखिए । काँसका बुटाहरू मासेर जसोतसो खेत बनाएकाले यहाँका बासिन्दाहरू बगरका यी खेतलाई ‘कँसेरी’ भन्ने गर्दछन् ।
औलो नियन्त्रणको सरकारी अभियान प्रारम्भ हुनुअघि तीनपाटनमा मानिसहरू शिखरमा बस्ने गर्दथे र रोपाइको समयमा बेसीमा झर्ने गर्दथे । कत्लेशिखर, थुम्कीशिखर, नेपालेशिखर, जखनीशिखर आदि औलो नियन्त्रण हुनुअघि यहाँका घनावस्ती भएका शिखरहरू हुन् । औलो नियन्त्रणपछि भने शिखरबाट बेसीमा झ¥यो— बसोबास । अब चदाहा खोलाको वारिपारि पहाडको काँछमा गाउँ नै गाउँ भए । असोजदेखि फागुनसम्म तीनपाटनमा बाक्लो हुस्सु लाग्थ्यो । हुस्सेको समयमा वारिबाट पारि जाने मानिसहरू आफूले ताकेको गाउँमा पुग्दैनथे; कि तल्लो गाउँ कि माथिल्लो गाउँ पुग्थे । ती दिनमा तीनपाटन सिन्धुलीको एक महत्वपूर्ण अन्न भण्डारका रूपमा थियो । सिँचाइका लागि चदाहा खोलाका अलावा साखाजोर खोला, पहिरे खोला, फेदी खोला, भारागाउँ खोला, किराते खोला, झुँगाखोला, ठेडीखोला, भुकुने खोला र चिसापानी खोलाहरूबाट किसानहरू सामुदायिक कुलो निर्माण गर्दथे । यहाँ सत्तरो, खार्पाली, गोला, कृष्णभोग, मालभोग, मकवानपुरे, कोइली मसिनो आदि रैथाने धानका जातहरू थिए । अलिपछि मन्सुली जातको खेती हुन थाल्यो । त्यसपछि विकासे जातका धानहरू रोप्न थालियो । ती दिनमा तीनपाटनमा धान किनेर त्यसलाई ढिकी वा मिलमा कुटेर चामल बनाएर कोटगाउँ, राम्चे, धापचौकी हुँदै सुलीभञ्ज्याङ्गको झोलुङ्गेपुल तरेर रामेछाप बजारका लागि चामल खेप्थे— भरियाहरू ।
मैले गोरु जोत्ने रउस बाबाटै प्राप्त गरेको हुँ । मैले थाहा पाएकै मितिदेखि बा हलो जोत्नु हुन्थ्यो । बर्खामा हरूवाले मिलाइसकेको मेलामा पनि बा, फिनिसिङ्ग भनौ; गर्नु हुन्थ्यो । धान रोप्ने समयमा बा बिहानदेखि बेलुकासम्म खेतमै हुनुहुन्थ्यो र हलो जोत्ने वा पटाहा लगाउने सन्दर्भलाई पर्खिनु हुन्थ्यो । बाको पुस्तामा हाम्रो गाउँमा ब्राह्मणमा बालाई छाडेर स्वर्गीय तेजकुमार कोइराला हुनुहुन्थ्यो; जसले हलो जोतेको देखियो । सके तेजकुमारले नै सिकाउनु भएको थियो होला— बालाई हलो जोत्न । ती दिनमा उहाँहरुका बीचको मित्रता अत्यन्त गाढा थियो । अलिपछि त चदाहा खोला वारिपारिका गाउँहरूमा हलो जोत्ने ब्राह्मणहरू धेरै देखिए ।
मैले भने एसएलसी दिएको वर्ष हो— मज्जाले हलो जोत्न पाएको । घरमा थिएँ र यस वर्ष दुई हलमध्ये एक हल चै आफैले जोतेर बर्खाको धान खेती उतार्ने धुनमा थिएँ । हाम्रो घरमा दुई हल गोरु थिए र बा दुइटा हरूवा चाहिन्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । कहिलेकाँही हलो जोत्नु, तोरी÷मकै छर्दा हलो जोत्नु र धान रोप्ने बेलामा बर्खाभरि हलो जोत्नु समान स्तरका कुरा थिएनन् । मेरा बाआमा मलाई यही कुरा बुझाउन प्रयत्नरत् हुनुहुन्थ्यो ।
हुन पनि बर्खामा हलो जोत्दा हलोमा पल्टाउनै नसकिने किसिमको लुडी लाग्थ्यो । त्यसमाथि तीनपाटनमा धान खेतको ठूलो क्षेत्रफल बगरबाट खेतमा रुपान्तरित भएको हो । बगर खेतमा अझै काँसका बुटाहरू हुन्थे । ती बुटालाई उधिन्न अनुभवी हरुवालाई पनि कठिन हुन्थ्यो । दिनहुँ जोत्ने मेलो हुने भएकाले तोरी वा मकै छर्न बारी जोते जस्तो रहरको विषय मात्र हुन सक्दैनथ्यो— बर्खामा हलो जोत्ने विषय । थाकिन्थ्यो । रुझ्दै÷भिज्दै जोत्नु पर्ने भएकाले ज्वरो आउने सम्भावना पनि हुन्थ्यो । यसबाहेक बर्खामा दिनहुँ हिलोमा हिड्नु पर्दा खुट्टा हिलाले खान्थ्यो । हिलाले खुट्टा खाएपछि घाउँ हुन्थ्यो र रातमा धेरै चिलाउँथ्यो । हिलाले खाएका खुट्टाहरूको अचुक औषधिका रूपमा प्रख्यात् थियो— अमारो । आफूले मात्र लगाउन अमाराको काँचो पात निचोरेर रस हिलाले खाएको ठाउँमा लगाइन्थ्यो । परिवारका लागि भने अमाराको पात पकाइन्थ्यो र धेरै पकाएपछि कालो लेदो बन्दथ्यो र त्यही लेदो खुट्टामा लगाउने गरिन्थ्यो । यो यति कष्टकर हुन्थ्यो; खुट्टा टट्टाएर बस्नखान सकिदैनथ्यो ।
अमारोको विकल्पमा मसी झार निचोरेर रस लगाए पनि हुन्थ्यो र नुनबेसार लगाए पनि हुन्थ्यो । टट्टाउन त फेरि उस्तै हो । हलो बनाउन सबैभन्दा राम्रो मानिन्थ्यो— सान्दान जातको काठ । यसको अघिल्लो भागलाई खोपेर फाली घर बनाइन्थ्यो र त्यसलाई अंग्रेजी अक्षर यु आकारको फलामको करुवाले अड्याइन्थ्यो । हलो जोत्दा अलिकति रड्कियो वा हलोलाई हरुवाले नियन्त्रण गर्न सकेन भने फलामको फालीले गोरुको खुर छेडिन्थ्यो । यसरी बर्खामा हलो जोत्नु विविध कोणबाट जटिल कार्य थियो । यिनै कारणले गर्दा बा बर्खामा मैले हलो जोत्ने उत्साह नदेखाए हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्थ्यो । र बालाई मैले एक हल गोरु बर्खाभरि जोत्न सक्छु भन्ने विश्वास पनि थिएन । यसैमा मेरो असहमति थियो । तर जब बा दुइटै हरूवा खोज्न लाग्नु भयो अनि मैले भनें— ‘एक हल म जोत्छु ।’ आमा पनि त्यतै हुनुहुन्थ्यो; आमाले सोझै अस्वीकार गर्नुभयो र भन्नु भयो— ‘तँ सक्दैनस् ।’
मलाई भने म सक्दिनँ भन्ने लाग्दै लाग्थेन । मेरा दौतरी सबै हलो जोत्छन्, दिनभरिभरि जोत्छन् । म पनि तिनीहरूभन्दा कमजोर देखिन चाहन्नथें । तर बाआमा चाहनु हुन्थ्यो— बिउँ उखल्ने, गाईगोरुलाई घाँसपानी गर्ने, पानीको बन्दोबस्त मिलाउने, बिउँ काड्ने, मेलामा बाउसे गर्ने जस्ता हल्काफूल्का काम गरोस्; हलो जोत्ने कुरा चै नगरोस् । मेरो अवस्था फरक थियो; म दौतरीहरूका बीचमा मैले पनि बर्खाभरि एक हल गोरु जोतें भनेर नाक ठाडो पार्न चाहन्थें; आफ्नो बहादुरी स्थापित गर्न चाहन्थें । तर मेरो महत्वाकांक्षालाई कुनै मूल्य नदिएर हरूवा दुइटै राखियो— एकजना मथुरे दाइ र अर्को डडुवाको घर्ती दाइ ।
हाम्रो समयमा आइपुग्दा तीनपाटनमा सबैजसो ब्राह्मण युवाहरू हलो जोत्थे; वैष्णवहरू पनि जोत्थे । हुस्सु लाग्ने सिजनमा हरूवालाई आलीमा राखेर हलो जोत्न सिक्थ्यौं— हामी । हाम्रो जस्तो कृषिपेशामा आधारित परिवारमा घाँस काट्ने, खन्ने, आली लगाउने, बिउँ उखल्ने, गाईगोरुलाई घाँसपानी गर्ने आदि कामका विविध आयामहरू हुन्थे । मलाई भने हलो जोत्ने काम सहज र रमाइलो थियो ।
मलाई मन पर्ने गोरु थिए— सिन्दुरे र बहादुरे । दाजु भाइ हुन् यी । रातु गाईका बाच्छा । घरमै हुर्किएका । दुइटैको स्वभाव एउटै प्रकारको थियो; दुबै छिटा थिए ः अगाडिको हललाई भेटेर हिड्थे । सबैभन्दा अगाडि छन् भने पछाडिको हललाई झिंजो नलाग्ने गरी हिड्थे । दुबैलाई हकारे पुग्थ्यो; कुट्नु हुँदैनथ्यो । कुट्यो भने मेलामा ल्याउन कठिन हुन्थ्यो । म यही हल जोत्न चाहन्थें ।
चाहन्थें मात्र होइन; मैले यो बर्खा अधिकतर् दिन यो हल जोतें । मथुरे दाइ र घर्ती दाइले पालोपालो आली लगाउनु भयो; पानीको रठ्ठापठ्ठा मिलाउनु भयो, बीउ काड्नु भयो । कुनै दिन त हामी बाबु छोराले नै हलो जोत्यौं र दाइहरू अरु काममा लाग्नु भयो । बा जोत्न अग्रसर हुँदा मेरो मन खुम्चिन्थ्यो; किनकि बा मेरै अनौ समात्न आउनु हुन्थ्यो र भन्नु हुन्थ्यो— ‘तँ अगाडि जा ।’
हाम्रो परिवारमा एकदमै भिजेका हरूवा थिए— लाखे दाइ । लोखे दाइ जस्तै मथुरे दाइ र बुढाथोकी मामा हाम्रो परिवारका यस्ता सहयोगी हुनुहुन्थयो; जो हाम्रो बर्खे खेतीको रठ्ठापठ्ठा आफै मिलाउनु हुन्थ्यो ।
म जुन कालखण्ड र परिवेशमा हुर्किएँ; त्यसको उपलब्धिको एउटा आयाम हलो जोत्न पाउनु हो । मेरा सबै भाइहरूले हलो जोतेका छन् । गोकर्णलाई जोत्न भन्दा खन्न मन पथ्र्यो । नारायणले उति धेरै जोत्न पाएन होला । ध्रुव, सानु, श्यामराज र उत्तमले मैलेभन्दा अझ जिम्मेबारीका साथ हलो जोतेका छन् । यी चार भाइ त जोत्न मात्र होइन; घाँस काट्न, बिउँ काढ्न, आली लगाउन, छेउकुना खन्न आदि सबै प्रकारका काममा फिट !
हलो जोत्नुको मज्जा हामी हाम्रै पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्ने भएको छौं । यसका अनेकौं कारण छन् । एक त, निर्वाहमुखी कृषि कर्मप्रति नेपाल समाजमा चरम वितृष्णा देखिएको छ । दोस्रो, बिस्तारबिस्तार नेपाली समाजमा कृषिकर्मले व्यावसायिकताको स्वरूप ग्रहण गर्दैछ । तेस्रो, उन्नत प्रविधिको बढ्दो प्रयोगले हामीले प्रयोग गरेका हलो, हरिस, फाली, अनौ, जुवा, सोइला, जोतारो, नारा, ठेडी आदि संग्रहालयको नजिकनजिक पुगेका छन् । चौथो, शारीरिक श्रमलाई दुःखका रूपमा परिभाषित गर्ने प्रवृत्ति दिन प्रतिदिन घनीभूत हुँदै आएको छ ।