


बेंगलुरु भागदौड: विराट कोहलीविरुद्ध उजुरी दर्ता

काठमाडौं- भारतको बेंगलुरुस्थित चिनास्वामी रंगशालामा टिकट वितरणका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि चर्चित क्रिकेटर विराट कोहलीविरुद्ध उजुरी दर्ता गरिएको छ। सामाजिक अभियन्ता एचएम वेंकटेशले कोहलीमाथि ‘आईपीएलमार्फत जुवा प्रवर्द्धन गरी भिड भेला गराएको’ आरोप लगाउँदै क्ब्बन पार्क प्रहरी चौकीमा उजुरी दिएका हुन्।
वेंकटेशले आफ्नो उजुरीमा भनेका छन्, “आईपीएल खेल नभई जुवाको रूप लिएको छ जसले क्रिकेटलाई दूषित बनाएको छ। विराट कोहली जस्तो चर्चित खेलाडीले यस्तो गतिविधिमा सहभागी भएर जनतालाई एकै ठाउँमा भेला गराउन प्रेरित गरे र यो दुर्घटना गराए।” उनले कोहलीसहित आरसीबी टोलीका सदस्यहरूलाई एफआईआरमा आरोपी बनाउन माग गरेका छन्।
यसबीच, चार जना पक्राउ परेका छन्, जसमा आरसीबीका वरिष्ठ अधिकारी निखिल सोसाले र तीन जना इभेन्ट म्यानेजरहरू छन्। उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ।
यसअघि, कर्नाटक उच्च अदालतले कर्नाटक राज्य क्रिकेट संघका पदाधिकारीहरूलाई अन्तरिम राहत दिँदै तत्काल कुनै कारबाही नगर्न निर्देशन दिएको छ।
गम्भीर आरोपहरू अन्तर्गत आरसीबी फ्रेन्चाइज, डीएनए इन्टरटेनमेन्ट प्रा.लि. र केएससिएविरुद्ध गैरकानुनी भेला, आपराधिक लापरवाही र आपराधिक मानवहत्या जस्ता मुद्दामा एफआईआर दर्ता गरिएको छ।
घटनापछि बेंगलुरु प्रहरी प्रमुख बी. दयानन्दसहित पाँच जना वरिष्ठ प्रहरी अधिकारीहरूलाई तत्काल प्रभावबाट निलम्बन गरिएको छ।

