माछापुच्छ्रेको काखमा रविको ‘छवि’ खोज्दै रास्वपा कार्यकर्ता
रवि लामिछाने यतिबेला पर्यटकीय नगरी पोखराको प्रहरी हिरासतमा रात कटाइरहेका छन् । सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पूर्जीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पार्टी कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएपछि उनले विगत एक सातादेखि हिरासतमा रात कटाइरहेका हुन् ।
पहिलोपटक ६ दिनको म्याद दिएको अदालतले दोस्रोपटक भने ७ दिनको म्याद थप गरेको छ । अबको ७ दिनको दिन अदालत खुल्ला हुने र त्यसपछि तिहार बिदा हुने हुनाले अदालतले बिदा हुनुअघिल्लो दिनसम्मका लागि म्याद थपेको हो । दोस्रोपटक थपिएको म्याद सकिएको दिन अदालतले रविले तिहार कहाँ मनाउनेछन् भन्न टुंगो लगाउनेछ ।
अमेरिकाबाट नेपाल फर्किएपछि रवि एकाएक चर्चाको शिखरमा पुगे, कारण उनले गरेको पत्रकारिताबाट । पत्रकारिताकै बीचमा सहकर्मीले गरेको आत्महत्याको कारकको दाग रविमा लाग्यो । त्यसबाट उन्मुक्ति पाउँदै रविले त्यही पत्रकारितालाई भर्याङ बनाएर राजनीतिमा प्रवेश गरे । राजनीतिक दल नै खोलेर अगाडि बढेका रविले छोटो समयमै जनप्रतिनिधिका हिसाबले ४९२६४ जनताको मतबाट राज्य सञ्चालनको निर्णायक तहमा पुगे । उनी चितवनबाट भारी मतान्तरसहित सांसद बनेको २ वर्ष पुग्न ठ्याक्कै १ महिना बाँकी छ ।
उनका साझेदार भनिएका जीबी राईले एक मिडियालाई पठाएको भनिएको पत्रअनुसार (एक सञ्चारमाध्यममा जीबीले पठाएको भनिएको पत्रको आधिकारिकता पुष्टी भइसकेको छैन) रविले अबका कैयौं रातहरु ‘कहाँ बिताउलान् त्यो अदालतले नै निर्णय गर्ला । यदि उक्त पत्र जीबीले नै लेखेको र सो अनुसार प्रहरी अनुसन्धान अगाडी बढेमा र तथ्य पुष्टी भएमा रविलाई कसैले पनि अब केही समय खुल्लम-खुल्ला हिँडेको देख्न पाउने सम्भावना कम देखिन्छ ।
पर्यटकीय नगरी पोखराको फेवातालमा रविको अनुहार खोज्दा माछापुच्छ्रे देखिरहेका छन् । रविका कारण कैयौं सहकारीका बचतकर्ताहरु पीडित बनेको यथार्थ बुझ्न पोखरा नै पुगेका जस्ता देखिएका कार्यकर्ता अब विस्तारै सेलाउँदै गएका छन् । देशका विभिन्न जिल्लाबाट रविको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू बिस्तारै तिहार मनाउन घर फर्कन थालेका छन् ।
रविको ‘करिस्म्याटिक’ छविमा भविष्य खोज्दै उनको पछि लागेका मनिष झा र स्वर्णिय वाग्लेहरु यतिबेला रविको गुणगान र बाँकी राजनीतिक दलका नेताहरुको (विशेष गरी कांग्रेस अनि गगन थापा) उछितो काढ्नमै व्यस्त छन्, जसमा तोसिमा र सोविताहरुले साथ दिइरहेका छन् । जुन राजनीतिक दल र त्यो दलको नेताको पाउ परी राजनीतिको कखरा सिके अहिले उनीहरुले त्यही दल र नेतालाई अपाच्य शब्दहरुको प्रयोग गर्दै पोखराका चौताराहरुमा कुर्लिरहेका छन् मात्र रविको पुच्छरबाट आफ्नो भविष्य सुरक्षित गर्नका लागि ।
रवि जब राजनीतिमा प्रवेश गरे त्यसपछि विवादै विवादको भूमरीमा परिरहेका छन् । एकपटक त उनले राहदानी काण्डका कारण सांसद पद नै गुमाए, भलै पुनः उनी निर्वाचित भए, तर उनमा लागेको दागको इतिहास आम जनताले भुल्ने बेला भइसकेको छैन ।
राजनीतिमा छोटै समयमा सफलता पाएका रविले त्यो भन्दा छोटोसमयमा सत्तामा जानुपर्छ भन्ने मान्यता राख्नु उनको अर्को बदख्वाईं थियो । सरकारमा जानका लागि पनि उनले चाहेकै मन्त्रालय माग गर्नु उनको अर्को दुर्नियत मान्न सकिन्छ । गृहमन्त्रालय नै माग गरेर आफू नै सत्तामा गएपछि पनि पटक–पटक काण्डहरुमा फसेका रविले आफ्नै पार्टीका एकजना ‘डोनर’ सांसदको पद खाइदिए । जसको बलमा राजनीतिक दल स्थापना गरेका थिए, उनैलाई कारबाही गरेर मनिष–स्वर्णिमहरुलाई काखी च्यापेका रवि यतिबेला व्यासायिक साझेदार छविलाल जोशीसँगै एउटा भवनका फरक २ कोठामा रात कटाइरहेका छन् । जहाँबाट पूर्वहाकिमहरूलाई प्रहरीले अदालत र हिरासतसम्मको यात्रा गराइरहेको छ ।
रविको पक्राउपछि एका–एक पोखरा भ्रमणमा निस्किएका रास्वपा कार्यकर्ताहरु दिनदिनै घट्दो क्रममा देखिएको छ । पर्यटकीय नगरी पोखराको फेवातालमा रविको अनुहार खोज्दा माछापुच्छ्रे देखिरहेका छन् । रविका कारण कैयौं सहकारीका बचतकर्ताहरु पीडित बनेको यथार्थ बुझ्न पोखरा नै पुगेका जस्ता देखिएका कार्यकर्ता अब विस्तारै सेलाउँदै गएका छन् । देशका विभिन्न जिल्लाबाट रविको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू बिस्तारै तिहार मनाउन घर फर्कन थालेका छन् ।
पछिल्लोपटक जीबीको भनिएको पत्र सार्वजनिक भइसकेपछि झन् आम कार्यकर्ता निराशमात्र नभई अब रुष्ट नै भएका छन् । यदि उक्त पत्र जीबीको भएको र पत्रमा उल्लेख गरिएका तथ्यहरु सही भएको प्रमाणित भएको खण्डमा रविलाई कास्की जिल्ला अदालतले जिल्ला प्रहरीको हिरासतबाट जिल्ला कारागार बाहेक अन्यत्र पठाउने सम्भावना न्यून देखिन्छ ।