

सेना एसएमजी प्रकरणः उपरथीसमेत मुछिए, क–कसलाई होला कारबाही?
पक्राउ परेका सैनिकहरुलाई लठ्ठ पार्ने औषधी खुवाइएको थियो

चितवन कारागारमा रहेका सैनिकहरु लबकुमार गुरुङ र सरोज तामाङ।
काठमाडौं – ४ पुस २०७५ मा चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट हतियार हरायो। त्यतिबेला गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी हराएको थियो।
एसएमजी हराएको घटनाले अहिले नेपाली सेनालाई २ कित्तामा विभाजन गरेको छ। सेनाभित्रकै एक तप्काले घटनाको सत्यतथ्य कुरालाई बाहिर ल्याएर जनताको सुरक्षामा सेना सधैं रहन्छ भन्ने विश्वास दिलाउन लागिपरेको छ भने अर्को तप्का संगठन प्रमुखलाई बदनाम बनाउन लागिपरेका छन्।
सैनिक स्रोतका अनुसार एक तप्का घटनाको सत्यतथ्य बाहिर आएर सेना र पीडित पक्षको बारेमा वकालत गर्दै आएको छ, भने अर्को पक्षले सेनालाई कमजोर तुल्याउने र भर्खरै संगठनको जिम्मेवारी समालेका प्रधानसेनापति प्रभुराम शर्मालगायत सैनिक अधिकारीलाई विवादमा तान्न लागिपरेको छ।
प्रधानसेनापति शर्मालाई असफल बनाउन अग्रसर समूहले जंगी अड्डाबाटै समाचार बनाउँदै पत्रपत्रिका, अनलाइन मिडियाहरुमा दिने गरेको तथ्य फेला समेत परेको छ। उच्च स्रोतका अनुसार चितवन घटनालाई उचालेर प्रधानसेनापतिलाई विफल बनाउने कार्यमा नेपाली सेनाका कानुन अधिकृतहरुनै सक्रिय रुपमा लागेका छन्।
नाम उल्लेख नगर्ने सर्तमा प्राड विभागमा कार्यरत एक जुनियर अधिकृतले भने, ‘चिफसाफलाई कमजोर बनाउन उहाँहरुले पहिला संगठनको हितमा काम गर्नेलाई नै विवादमा ल्याएर आफूहरुलाई सहज हुने भएपछि यस्तो खेल भएको हो।’
चितवन घटनालाई मोडेर सेनालाई विवादमा ल्याउने र असली अभियुक्तलाई भगाएर निर्दोषलाई मुस्ने काम समेत प्रमुख सेनानी अमित प्याकुरेलबाटै भएको स्रोत बताउँछ। यतिबेला चितवन घटनाले अर्कै मोड लिएपछि सेनाभित्र हलचल पैदा गरेको छ।
कसको कमजोरी?
दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्रदल गण’का सिपाही गंगाधर ढकालले मिति ४ पुस २०७५ को बिहान कालीबहादुर गणको कोतबाट सर्ट मेसिन गन (एसएमजी) हतियार चारी गरे। सिपाही ढकालले कालीबहादुर गणबाटै सैन्य तालिम समेत गरेका थिए।
सिपाही ढकाल ‘दि फेमस महिन्द्रदल गण’बाट १ पुसमा घर बिदामा बसेका थिए। हतियार हराएकै गणमा तालिम गरेका कारण उनलाई त्यहाँको सबै वातावरण थाहा थियो, जसका कारण उनलाई गणमा छिरेर हतियार निकाल्न सहज भयो।
त्यतिबेला गणको नेतृत्व हतियार हराएको ठाउँलाई सिल गरेर त्यसको अनुसन्धान गर्नतिर लाग्नुको सट्टा आफू बच्नका लागि लबकुमार र सरोजलाई फसाउनतिर नै लागेको देखिन्छ। त्यतिबेला गणका प्रमुख थिए, सेनानी सरोज अधिकारी।
गणबाट हतियार हराएपछि अनुसन्धान सुरु भयो। अनुसन्धानका क्रममा त्यतिबेला ड्युटीमा रहेका सिपाही सुबी गुरुङ, लबकुमार गुरुङ र सरोज तामाङलाई प्याकुरेलले लट्ठ पार्ने औषधि सेवन गराउन सल्लाह दिएर हतियार चोरीमा साविती बयान दिन लगाएको खुलेको छ।
प्याकुरेल त्यतिबेला मध्य पृतना हेटौंडाका कानुन अधिकृत समेत थिए।
सेनानी अधिकारी तत्कालिन गणका मेजर दीपेन्द्र श्रेष्ठ, क्याप्टेन गणेश ढकालसहितको टोलीले त्यसपछि सैनिक अदालतमा मुद्दा दायर गरी अदालतका तत्कालिन अध्यक्ष सहायक रथी सहदेव खड्काले उनीहरुलाई दोषी ठहर गरी सुबीलाई ३ महिना, लबकुमारलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष जेलसजाय तोकियो।
सहायक रथी खड्काले त्यतिबेला प्रमुख सेनानी समुन्द्र थापा र प्राड सेनानी दुर्गा बस्नेतलाई सैनिक अदालतको सदस्यमा राखेका थिए। सदस्यमा उनीहरुलाई राखेपनि काम भने प्याकुरेल र खड्को आफूले चाहेबमोजिम गराउन लगाएका थिए।
स्रोतका अनुसार त्यतीबेला पक्राउ गरिएकालाई लागूऔषध सेवन गराउन सल्लाह दिने उनै प्रमुख सेनानी अमित प्याकुरेल नै थिए। तर अहिले उनले सोहीकुरा बाहिर आउन नदिन त्यतिबेलाका अधिकारीकालाई बदनाम गराउँदै आएका छन्।
स्रोतले भन्यो, ‘प्याकुरेलले भोलिका दिनमा आफू जोगिन दुर्गाको नाममात्र राखेका थिए। त्यो दिन प्याकुरेल लबकुमार र सरोजलाई साबिती बनाउन लागूऔषध खुवाउन निर्देशन दिए, आफू भने त्यहिँ मदिरा सेवन गर्दै बसे।’
लामो समयसम्म सैनिक संगठनको मुद्दा पुनरावेदनबाट फैसला नहुनु दूर्भाग्यपूर्ण रहेको पुर्वसैनिक अधिकारीहरु बताउँछन्। सेटिङ बिनाको मुद्दाको फैसला नगर्ने प्राड विभागका प्रमुख उपरथी रत्नप्रकाश थापा पनि चितवनमा हतियार हराएको घटनामा संलग्न रहेको सेनाभित्र चर्चा छ।
थापासँग सेटिङ नगरेका कारण सिपाही लबकुमार र सरोजहरु जेलमा बस्न बाध्य भएको पीडित परिवारको दावी छ। स्रोतका अनुसार सिपाही गंगाधर ढकालबाट बरामद भएको ९ लाख रुपैयाँदेखि सैनिक अदालतमा सदस्य हुन् रत्न प्रकाशका प्रमुख सेनानी मृगेन्द्र बस्नेतलाई पठाएका थिए।
सैनिक अदालतका अध्यक्ष सरोज राणाले मृगेन्द्र बस्नेतले चलखेल गरेको थाहा पाएपछि उनलाई अदालतको सदस्यबाट हटाएर सेनानी गणेश रायमाझीलाई राखेका थिए। प्रधानसेनापतिका बफादार भन्दै सेनाभित्र चिनिएका प्राड महासेनानी महेन्द्रजंग शाहको नाम विवादमा ल्याएर उनलाई सेनापतिबाट टाढा गराउन सेनाभित्रका केही अधिकारी लागिपरेको सैनिक मुख्यालयका एक अधिकृतले बताए।
नाम उल्लेख नगर्ने सर्तमा प्राडका एक अधिकारीले भने, ‘सरोज र लबकुमारको २०७५ सालको मुद्दा उनै रत्नप्रकाशले हेरेर जाहेरी उठाएका थिए। त्यसबेला अभियोजन महाशाखा नै गठन गरिएको थिएन।’
सैनिक अभियोजन महाशाखालाई मुछ्ने र सेनाको अनुसन्धानलाई कमजोर तुल्याउने उद्देश्यले प्रचार गरिएको ती अधिकारीको भनाइ छ। उनका अनुसार सैनिक अभियोजन महाशाखा ११ भदौ २०७७ मा मात्र स्थापना भएको थियो।
स्रोतका अनुसार तत्काली प्रधानसेनापति पुर्णचन्द थापाले यो मुद्दालाई छिटो टुंग्याउन निर्देशन दिएपनि रत्नप्रकाशले आलटाल गर्दै आएका थिए। चितवन घटनाले उग्र रुप लिएपछि घटनाको करिब ३ वर्षपछि प्रधानसेनापति प्रभुराम शर्माले जिम्मेवारी लिएसँगै मुद्दालाई अघि बढाउन निर्देशन दिएका हुन्।
त्यसपछि रत्नप्रकाशसहितको सैनिक पुनरावेदन इजलासले विहिबारको पेसीमा मिसिल झिकाउने आदेश गरेको थियो। अब सर्वसाधारणको चासो भनेको प्रस्तुत विषयमा हाल पिडित भनिएकाले कस्तो न्याय पाउलान्? अनि सेनाको विषयमा यसरी जथाभावी प्रचारप्रसारमा लागेका सेनाभित्रका अधिकारीलाई नयाँ सेनापतिले कस्तो कारबाही गलार्न? त्यो हेर्न बाँकी छ।
लबकुमार र सरोज निर्दोष रहेको अनुसन्धानबाट खुल्न आएमा चोर्ने एउटा सजाय अर्कैले खेपिरहँदा नेपाली सेनाको न्यायिक अनुसन्धान प्रक्रियामाका विषयमा पनि आन्तरिक छानबिन हुन सक्नेछ। उक्त प्रकरणका बेला तत्कालिन छानबिन समितिलाई सेनाले स्पष्टिकरण सोध्न सक्ने बताइन्छ।
हतियार चोरीको अभियोगमा जेलमा रहेका उनीहरू निर्दोष देखिएसँगै तत्कालिन सैनिक अदालतका अध्यक्ष सहाकय रथी खड्का, अनुसन्धान टोली गणका तत्कालिन मेजर श्रेष्ठ र उपरथी थापा, क्याप्टेन ढकाल, को योजनामा लबकुमार र सरोजलाई घटनाको गहन अनुसन्धान नै नगरी फसाउन खोजिएको प्रष्ट हुन्छ।
हालैको एक हत्याकाण्डमा गणबाट हराएको भनिएको हतियार गंगाधर ढकालको साथबाट फेला परेपछि कोर्टमार्सल’ भई जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको भन्ने पीडितका परिवारको दाबीमा सत्यता देखिन आउँछ।

