दुई सैनिकको व्यथा छापिएको पहिलो त्यो समाचार

‘कोर्टमार्सल’ गरिएका दुई सैनिकलाई न्याय, सेनामाथि नैतिक संकट !


२५ साउनमा अनलाइनन्यूज७ ले पहिलोपटक निर्दोष सिपाहीहरुको व्यथालाई समाचार बनाएर प्रकाशित गरेको थियो। सेनाको बदमासीः कोर्टमार्सल गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित शीर्षकमा समाचार प्रकाशित गरेपछि सर्वत्र चासोको विषय बन्यो।

त्यसपछि हामीले पीडितका परिवारलाई भेट्न अवसर पायौं। चितवन पुगेर पीडित परिवारका सदस्यलाई भेटेरै निर्दोष हुँदाहुँदै पनि उनीहरुलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई दिइएको यातनाको वृत्तान्त हामीले यसअघिका श्रृखंलामा लेखिसकेका छौं।

पीडित परिवारलाई दिइएको मानसिक तथा शारीरिक यातनाको विषयमा हामीले खबरदारी गरिरह्यौं। मेनस्ट्रिमका मिडियाहरुले जतिबेला समाचार लेख्ने आँट पनि गरेनन्। झुटो अभियोगमा दुई सैनिकले झुटो अभियोगमा जेल सजाय भोगिरहेको भन्दै हामी समाचार लेख्न पछि हटेनौं।

हामीले निरन्तर पीडितको पक्षमा कलम चलाइरह्यौं। कलममार्फत् हामीले सम्बन्धित निकायलाई निरन्तर खबरदारी गरिरह्यौं। त्यसपछि सैनिक मुख्यालयले हतियार चोरी प्रकरणबारे अनुसन्धानका गर्न एक छानबिन टोली चितवन पठाएको थियो।

११ भदौमा छानबिन टोलीले समेत सत्य कुरालाई प्रतिवेदनमा उतारेर प्रधानसेनापति प्रभुराम शर्मालाई प्रतिवेदन बुझायो। बुझाइएको प्रतिवेदनमा टेकेर सैनिक विशेष अदालतले अन्ततः आज झुटो अभियोगमा जेलसजाय काटिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष साबित भएका छन्।

एसएमजी हतियार चोरीको झुटो अभियोगमा साढे दुई वर्षदेखि चितवन कारागारमा जेल सजाय काटिरहेका उनीहरुलाई नेपाली सेनाको जंगी अड्डास्थित विशेष सैनिक अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ।

हतियार चोरीको अभियोगमा जेलमा राखिएका उनीहरू निर्दोष देखिएसँगै नेपाली सेना सो घटनाको अनुसन्धानमा चुकेको पुष्टी भएको छ । घटनाको साढे दुईवर्षपछि निर्दोषलाई सफाई र दोषीलाई कारबाही गर्दै आफ्नो साख भने सेनाले जोगाएको छ ।

यस फैसलासँगै सेना प्रमुखमाथि अर्को प्रश्न तेर्सिएको छ । अब दुई सैनिक जवानमाथि भएको यातनाको क्षतिपूर्ति कसले दिने ? उनीहरूका परिवारले पाएको सास्तीको मूल्य कसले तिर्ने ?

उनीहरुलाई यसअघिको अनुसन्धानमा दोषी करार गर्ने सैनिक उच्च अधिकारी कस्तो किसिमको सजायको भागीदार बन्लान् ? के उनीहरुलाई कारबाही होला त ? प्रश्नै प्रश्नले घेरिने अवस्थामा वा नैतिक संकटमा छ-नेपाली सेना ।

जुन हतियार चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई सजाय दिइएको थियो, त्यही हतियार गत ७ साउनमा चितवनमा भएको सैनिक भरत गुरुङको हत्यामा संलग्न सिपाही गंगाधर ढकालको साथबाट भेटिएपछि पुरानो घटना बाहिर आएको थियो।

यता, सिपाही ढकाललाई चोरीको अभियोगमा दोषी ठहर गर्दै विशेष सैनिक अदालतले आजीवन जेलसजाय तोकेको छ। बिहीबार लबकुमार र सरोजको मुद्दामा जंगी अड्डास्थित विशेष सैनिक अदालतमा सुनुवाई भएको थियो।

सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनुपर्ने भए तापनि सैनिक विशेष अदालतले २८ महिनादेखि अल्झाएर राखेको लबकुमार र सरोजको मुद्दामाथि गुरुङको हत्यापछि चौतर्फी दबाब परेपछि मात्रै सेनाले प्रक्रिया अगाडि बढाएको थियो।

प्रतिक्रिया