प्रहरी प्रधान कार्यालयको कडाइ, राजीनामा रोकिने


काठमाडौं – हाल राजधानी केन्द्रित आन्दोलन र प्रदर्शनको चाप बढेसँगै प्रहरी प्रधान कार्यालयले संगठनभित्रको व्यवस्थापनलाई थप कडाइ गरेको छ । आन्दोलनको संवेदनशीलता र सुरक्षामा पर्ने प्रभावलाई ध्यानमा राख्दै प्रधान कार्यालयले मातहतका निकायहरूलाई कुनै पनि सुरक्षाकर्मीको राजीनामा तत्काल स्वीकृत नगर्न निर्देशन दिएको हो ।

यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, विभिन्न विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।

राजधानीमा हालै शिक्षक, आवासीय चिकित्सकदेखि विभिन्न संघसंस्थाका आन्दोलन चुलिँदा सुरक्षाको चुनौती बढेको छ । यस्तै, राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी परिचालन व्यापक बनाइएको छ । यस्तो संवेदनशील समयमा जनशक्ति व्यवस्थापनमा असर नपरोस् भन्ने उद्देश्यले राजीनामा रोकिने निर्णय लिइएको प्रहरी स्रोतको भनाइ छ ।

नयाँ आदेश नआएसम्म कुनै पनि सुरक्षाकर्मीको राजीनामा स्वीकृत नहुने प्रहरीले स्पष्ट पारेको  छ ।

प्रतिक्रिया