एसएमजी चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय


काठमाडौं – सैनिक समरी जनरल अदालतले नेपाली सेनाका सिपाही भरत गुरुङको हत्या स्वीकार गरेका र हतियार चोरी गरेको आरोपमा सैनिक गंगाधर ढकाललाई जन्मकैदको फैसला सुनाएको छ।

अपराध स्वीकार गरेका ढकाललाई सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो। त्यस्तै ४ पुस २०७५ मा चितवनको कालीबहादुर गणबाट गणबाट ‘स्टर्लिङ ९ एमएम एनकेआर १००७९२’ नम्बरको एसएमजी हराएको थियो।

दोस्रो विश्वयुद्धमा सहभागी ‘दि फेमस महिन्द्रदल गण’ मा कार्यरत रहेका ढकालले मिति ४ पुस २०७५ मा गणको कोतबाट हतियार चोरी गरेको बयान दिएपछि उनलाई दोषी ठहर गरेको हो।

सैनिक जवान ढकालले बयानमा आफूले चोरेको भनेपछि सैनिक अदालतमाथि प्रश्न उठेको छ। ढकालले कालीबहादुर गणबाट एसएमजी हतियार चोरेको पुष्टि भएपछि फर्जी अभियोगमा कोर्टमार्सल गरिएका उदयपुरका लबकुमार गुरुङ  र मोरङका सरोज तामाङ निर्दोष रहेको पुष्टि हुन्छ।

जुन हतियार चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई सजाय दिइएको थियो, त्यही हतियार गत ७ साउनमा चितवनमा भएको सैनिक गुरुङको हत्यामा संलग्न ढकालको साथबाट भेटिएपछि पुरानो घटना बाहिर आएको थियो।

ढकालले गणबाट चोरी गरेको हतियारले हानेर गुरुङको हत्या गरेका थिए। गुरुङको हत्यापछि गणबाट हराएको भनिएको हतियार ढकालको साथबाट फेला परेपछि कोर्टमार्सल’ भई जेलमा रहेका उनीहरू निर्दोष रहेको र उनीहरूलाई व्यक्तिगत रिसइबीका कारण फसाइएको कुरामा दुईमत छैन।

आफूहरू निर्दोष भएपनि समरी अदालतले दोषी ठहर गरेको भन्दै उनीहरूले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए। उक्त पुनरावेदन निवेदनलाई २८ महिनापछि सैनिक विशेषले पेसी तोक्दै सुनुवाइ अघि बढाएको थियो।

गत साता विशेषले समरी अदालतको फैसला मगाउने आदेश गरेको थियो। उक्त मुद्दामा सुनुवाइका लागि बिहीबार पनि पेसीमा सुनुवाई भइरहेको छ। सम्भवतः उनीहरुलाई विशेष अदालतले रिहा गर्न आदेश दिनसक्छ।

विशेषले मगाएको ढकालसमेतको मुद्दाको फाइलमा सैनिक समरीले उनलाई जन्मकैद हुने फैसला गरेको उल्लेख छ। उनले हतियार चोरी गरेको र भरत गुरुङको हत्यासमेत गरेको साविति बयान दिएका थिए।

प्रतिक्रिया