

‘मोस्ट वान्डेट’ लक्ष्मीको दुबईमा मस्ती ! (भिडियोसहित)
जग्गा व्यवसायी एवं पूर्व देवर विक्रम लामाको हत्या गर्ने मुख्य योजनाकार राई बेलायतबाटै दुबई पुगेको अनुमान

काठमाडौं – लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते जग्गा व्यवसायी विक्रम लामामाथि दिनदहाडै ज्यान मार्ने उद्देश्यसहित रड प्रहार गरेर हत्या प्रयास गर्ने मुख्य योजनाकार लक्ष्मी राई दुबई पुगेको भेटिएको छ ।
लक्ष्मी राईले चार जनालाई लामाको ज्यान लिने उद्देश्यसहित ७० लाख सुपारी दिएको खुलेपछि मुख्य नाइके अजय लामासहित ३ जना अहिले थुनामा छन् भने पक्राउ परेका गोरखाका दिपक बरामु भने धरौटीमा रिहा भएका छन् । मुख्यनाइके लामासहित मार्सल भनिने शैलेन्द्र तामाङ र निश्चल सुनार पनि थुनामा रहेका छन् । तर, उक्त घटनाकी मुख्य योजनाकार मानिएकी लक्ष्मी भने नेपाल प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेकी छिन् ।
पक्राउ परेका अजयले आफूले राईकै योजनामा विक्रममाथि आक्रमण गरेको बयान दिएका थिए । तर, आक्रमणलगत्तै लक्ष्मी बेलायत गएका कारण पक्राउ परेकी थिइनन् । अनुसन्धानको क्रममा उनी दोषी देखिए पछि प्रहरीले राईलाई मोस्ट वान्टेडमा राखेको छ ।
राईसहित रमेश सिललाई प्रहरीले प्रतिवादी बनाएको छ । बेलायतमै न्यू लक्ष्मी ज्वेलर्ससमेत सञ्चालन गर्दै आएकी लक्ष्मी हालै रमेशसहित दुबईमा मस्ती गरिरहेको भेटिएको छ । उनी दुबईका विभिन्न ठाउँमा घुमफिर र मदिरा पिउँदै गरेको भिडियो कागजपत्रले फेला पारेको छ । उनी नेपालमा मोस्ट वान्टेडको सूचीमा रहे पनि विदेशमा भने विन्दास घुमिरहेकी छिन् । राईसँग नेपालको साथसाथै बेलायतको पनि राहदानी रहेको हुनाले सो राहदानीको प्रयोग गरेर यात्रा गरिरहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटना के थियो ?
कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा रहेका विक्रम लामामाथि दिनदहाडै चार जनाले ज्यान मार्ने उद्देश्यका साथ योजनाबद्ध तरिकाले रड प्रहार गरेका थिए । रड प्रहारबाट लामा गम्भीर घाइते भएका थिए । उनको ज्यान लिनका लागि अजय तामाङले बेलायतको अल्डरसटमा न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी लक्ष्मी राईबाट ७० लाख रुपैयाँ सुपारी लिएको प्रहरीको अनुसन्धानबाट खुलाशा भएको छ ।
लक्ष्मीले पूर्वपतिका भाई एवं पूर्व देवर विक्रमलाई आफ्ना विभिन्न सूचना जानकारी भएको हुनाले आफ्नो ज्यान लिनका लागि अजयको समूहलाई ७० लाखको सुपारी दिएको दाबी घाइते लामाले आफू निकटलाई बताएका थिए । लक्ष्मी र विक्रमका दाजुबीच केही समय अगाडि डिभोर्स भएको थियो ।
घटनामा विक्रममाथि चार जनाको समूहले रड प्रहार गरेको भिडियो सामाजिक सञ्जालतिर भाइरल भएको थियो । बिहान करिब साढे ११ बजेको समयमा गाडी पार्किङ गरी गाडीबाट निस्कनासाथ लामामाथि पार्किङमै लामाको प्रतिक्षा गरिरहेका अजयको समूहले लामामाथि रड प्रहार गरि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । लामा अर्धचेत अवस्थामा ढलेपछि उनीहरू मर्यो भन्दै फरार भएका थिए । उक्त घटनाको मुख्य योजनाकार राई घटनाकै दिन बेलुका लन्डन उडेकी थिइन् ।
को हुन् लक्ष्मी राई ?
नेपाली र बेलायती दुवै देशको राहदानी प्रयोग गर्दै आएकी लक्ष्मीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोहोरो नागरिकता दुरूपयोग गरेको अभियोगमा अनुसन्धान सुरु गरिरहेको छ । बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएकी सुनसरीकी ५० वर्षीया लक्ष्मी राईमाथि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।
लक्ष्मीले नेपालको नागरिकता परित्याग नगरी बेलायती राहदानी प्रयोग गरेको खुलेपछि सिआईबीले अनुसन्धान सुरु गरेको थियो ।

