इन्जेक्सन लगाएकाे दुई मिनेटमै युवकको मृत्यु, ल्याब असिस्टेन्ट फरार


कैलाली- घोडाघोडी नगरपालिका–८ का ३३ वर्षीय नीरजबहादुर शाहीको सामान्य टाउको दुखाइका कारण स्थानीय मेडिकल गएका बेला सुई लगाएपछि ज्यान गएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकैको दहित मेडिकल गएका थिए।

मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौं गएको बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले शाहीलाई जन्डिस भएको भन्दै एउटा सिरिन्ज दिए। प्रत्यक्षदर्शी खडकबहादुर साउँदका अनुसार, इन्जेक्सन लगाएको केही मिनेटमै शाहीको मुखबाट फिँज निस्कन थालेको थियो र एकाएक छटपटिन थालेका थिए। कृत्रिम श्वास दिने प्रयास गरिए पनि उनको मृत्यु भइसकेको थियो।

शाहीका ससुरा रामबहादुर शाहीले बिहान मात्र ज्वाइँसँग चिया–खाजा खाएर टाउको दुखेको भन्दै मेडिकल गएको जानकारी दिए। “एकदमै सामान्य अवस्थामा निस्केका ज्वाइँको एक्कासी मृत्युको खबर आयो, जुन विश्वास गर्न गाह्रो भएको छ,” उनले भने।

इन्जेक्सन लगाउने ल्याब असिस्टेन्ट महावीर चौधरी घटना भएको केही समयमै फरार भएका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। शाहीको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

घटनापछि स्थानीयबासी र मृतकका आफन्तले मेडिकल अगाडि भीडभाड गरेका छन् र निष्पक्ष छानबिनसहित दोषीलाई कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया