गंगाधरले कालीबहादुर गणको कोतघरबाट यसरी चोरेका थिए एसएमजी (भिडिओसहित)


काठमाडौं– २, पुस २०७५ मा चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट स्टर्लिङ–९ एमएम एनकेआर १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) हराएको थियो। हालैको एक हत्याकाण्डपछि उक्त हराएको एसएमजी चोर्ने व्यक्ति पत्ता लाग्यो।

७ साउनमा चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेतनजिकै नहरमा नेपाली सेनाका हुद्दा भरत गुरुङको शव फेला परेपछि चितवन प्रहरीले भोलिपल्ट सेनाकै सिपाही गंगाधर ढकाललाई गुरुङको हत्या आरोपमा पक्राउ गर्यो।

भरतपुर महानगरपालिका–२१ पश्चिम रंगला घर भएका २६ वर्षीय गंगाधरले एसएमजी चोरेको पुष्टि भएपछि नेपाली सेनामाथि नैतिक प्रश्न खडा भयो। हाल गंगाधर पूर्पक्षको लागि जेल चलान भइसकेका छन्।

गंगाधरले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिँदा गुरुङको हत्या आफू एक्लैले गरेको स्वीकारे। गंगाधर एक्लैले कसरी हतियार निकाले? सेनालाई यहि कुराले बिझाइरह्यो। सेनालाई विश्वास नै लागेन। गंगाधर एक्लैले कसरी हतियार निकाल्न सक्छ?

गंगाधरले ‘हतियार आफू एक्लैले निकालेको हो’ भनिरहे पनि उक्त कुरा विश्वास गरेनन्। त्यतिमात्र होइन, गंगाधरले हत्कडी लगाए पनि निकालिदिन्छु भनेपछि सेनाले गंगाधरलाई चितवन प्रहरी हिरासतबाट लिएर कालीबहादुर गणमा लगी सोही कोतघरमा ‘क्राइम सिन रिकन्स्ट्रक्शन’ गरायो।

त्यतिबेला सेनाले खिचेको भिडिओे अनलाइनन्युज७लाई प्राप्त भएको छ। भिडिओेमा हत्कडीसहित देखिएका गंगाधरले सहज रुपमा बाँसको अकुंशेले एसएमजी हतियार निकालेका छन्। त्यसपछि मात्र सेनाले गंगाधर एक्लैले चोरी गरेको पत्यायो।

हेर्नुहोस् भिडिओ

अझ सेनाको कोतघरबाट हतियार चोर्नु चानचुने कुरा समेत होइन। उनले कोतघरबाट सहजै हतियार निकालेको बताएपछि सेना आफैं अचम्ममा पर्यो। पछि छानबिन समिति गठन गर्यो। यस घटनालाई प्रधानसेनापति प्रभुराम शर्माले समेत चासो राखे।

चोरीको विषयमा ढकालले बयान दिँदा ब्यारेकको चैबिसकोटीतिरको तारबाट राती १० बजे छिरेर २ घन्टाजति झाडीमा लुकी १२ बजेतिर चोरेर निस्किएको बताएका छन्। उनले १२ बजेपछि ड्युटीमा सेना अगाडि ढोकामा बसेको समयमा आफूले पछाडी झ्यालबाट हतियार राखेको ठाउँमा गएर एसएमजी निकालेको स्वीकारेका छन्।

यस्तै चोरेर लगेको एसएमजी अरूले थाहा नपाउन् भनेर ३ वर्षदेखि आफ्नै घरको टौवामुनि लुकाएर राखेको समेत बयानमा भनेका थिए।

००००
यता, सोही एसएमजी चोरीको आरोपमा जेलमा रहेका दुईजना सिपाहीहरु निर्दोष रहेको समेत खुल्यो। उदयपुरका लबकुमार गुरुङ र मोरङका सरोज तामाङलाई सोही एसएमजी चोरीको आरोपमा सैनिक जनरल अदालतले दोषी ठहर गरेपछि पछिल्लो अढाई वर्षदेखि जेलमा थिए।

सोही कुरा २५ साउनमा अनलाइनन्यूजले पहिलोपटक निर्दोष सिपाहीहरुको व्यथालाई समाचार बनाएर प्रकाशित गरेको थियो। ‘सेनाको बदमासीः ‘कोर्टमार्सल’ गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सर्वत्र चासोको विषय बन्यो।

गुरुङ हत्याकाण्डले चोरी गरेको एसएमजी गंगाधरको साथबाट बरामद भएपछि उनीहरु निर्दोष रहेको भन्दै चौतर्फी दबाब बढ्यो। अन्ततः १७ भदौमा सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएपछि भोलिपल्ट जिल्ला कारागार चितवनबाट उनीहरु निस्के।

गुरुङ हत्याप्रकरण र एसएमजी प्रकरणमा लबकुमार र सरोजलाई जेलमा राखिएको, मुद्दाका क्रममा परिवारका सदस्यलाई दिइएको यातनाको वृत्तान्त र गंगाधरले हतियार चोरी गर्दा प्रहरी, सरकारी वकिल र अदालतमा दिएको बयान हामीले यसअघिका श्रृखंलामा अनलाइनन्युज७ले लेखिसकेको छ।

प्रतिक्रिया